शेयर बजारमा सर्वसाधारणको खर्बौ रुपैयाँ जोखिममा, नयाँ लगानीकर्ता ‘मुर्गा’ बन्दै

२६ भाद्र २०७८, शनिबार ०८:३१

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हिजो संसदमा प्रस्तुत गरेको अध्यादेश बजेटको संशोधित विधेयकमार्फत देशलाई समाजवादी अर्थतन्त्रतर्फ अघि बढाउने घोषणा गरेका छन् । हेर्दा सामान्य भए पनि समाजवादी अर्थ व्यवस्था र उत्पादनमूलक अर्थतन्त्रमा जोड दिने नीतिले देश र समाजको अर्थतन्त्रमा गम्भिर असर पार्दछ । ओली सरकारका पहिलो अर्थमन्त्री डा. युवराज खतिवडाले भन्दै आएको समाजवादी अर्थव्यवस्था र वर्तमान अर्थमन्त्री जनार्दन शर्माका धेरै कुराहरु विस्तारै मेल खाएका छन् । आफूमा कुनै ज्ञान नभएको र माफियाको डिजाइनमा कमाउ धन्दा गर्ने निवर्तमान अर्थमन्त्री विष्णु पौडेलका कारण लाखौं लगानीकर्ता मुर्गा बन्दैछन् । यसले सिंगो शेयर बजारमा अबको केही वर्षसम्म अविश्वास र निराशा उत्पन्न गर्ने देखिएको छ ।

अर्थशास्त्र अध्ययन गरेका सबैले सामान्य ज्ञानको रुपमा पुँजिको समान वितरण अध्ययन गर्नैपर्छ । वर्तमान अर्थमन्त्रीले पदभार ग्रहण गरेको केही दिनमै पुँजिको समान वितरणमा ध्यान दिने बताए । हौवाको पछाडि लागेर शेयर बजारमा रमाउनेहरुले यसतर्फ ध्यान दिएनन्, पुँजि बजार अझै बढाउने कोसिस गरे । तर, यथार्थ त्यस्तो थिएन । हिजो संसदमा प्रस्तुत गरेको अध्यादेश बजेटले सरकारको मार्गदर्शन स्पष्ट हुन आएको छ । सरकार समाजावादी अर्थव्यवस्थातर्फ अघि बढ्नेछ । उनले घोषणा गरे, प्रत्येक गाउँपालिकामा कम्तीमा ५०० युवालाई बैंकमार्फत ऋण दिएर उद्यमी बनाउने, उत्पादनमा जोड दिने । देशभैरिका तीन लाख ७५ हजार युवालाई उद्यमी बनाउने लक्ष्य अघि सारेका छन् । सो लक्ष्यले सफलता प्राप्त गरेमा झण्डै एक खर्ब रुपैयाँ बैंकमा थप तरलता आवश्यक पर्दछ ।

सो तरलता यही बैंकिङ सिष्टमबाट नै परिपूर्ति गर्ने हुँदा शेयर बजार थप खुम्चिने निश्चित छ । त्यति मात्रै नभई उत्पादनमुखी र आन्तरिक आयमुखी अर्थतन्त्र निर्माण गर्ने भन्ने वित्तिकै उत्पादनलाई कुनै असर नपार्ने शेयर बजार पक्कै सरकारको प्राथमिकता भित्रै पर्ने देखिदैन ।
उल्लेखित कारणहरुले गर्दा नेपालको शेयर बजार अब कसैले चाहेर वा रहर गर्दैमा चार हजारतर्फको यात्रामा लम्कने छैन । बरु दुई हजारतर्फको यात्रातिर सोझिने देखिन्छ । केही दिनदेखिको लगातारको कारोबार हेर्दा समेत त्यस्तो देखिन्छ । शेयर बजार बढ्छ वा घट्छ यो ठूलो कुरा होइन । कागजी मूल्यमा कारोबार हुने शेयर बजारमा बुल र बियरिस यसको ध्रुवसत्य नियम हो र कतिबेला बुल र कतिबेला बियरिस हुन्छ भनेर कुनै ठोस फर्मुला नभएकोले गर्दा शेयरको मूल्य घट्दा सरकारलाई गाली गर्नु र मूल्य बढ्दा दारु पानीमा रमाउनेहरुले पुँजि बजारमा हात हालेर पछुताउने नै हो ।

अहिले यस्तै भइरहेको छ । मालामाल कमाई हुन्छ, फलानाले यति कमाइसक्यो, म ढिलाई भइसके भन्दै घरजग्गा बिक्री गरेर, ऋण लिएर समेत शेयर बजारमा लगानी गर्नेहरु थुप्रै भेटिएका छन् । शेयर बजारको यस्तो प्रवृत्ति स्वयम् पुँजि बजारकै दीर्घकालिन विकास र स्थायित्वको लागि घातक हुनजान्छ ।

बेलुन जसरी फुलेर देशको कूल ग्राहस्थ उत्पादन जिडिपीभन्दा माथि पुगेको नेपाली शेयर बजार आगामी दिनमा के हुन्छ ? यहाँ उल्लेख गर्नु पर्दैन सबैलाई थाहा छ । यस्तो अवस्थाले ठूला कारोबारी, माफियालाई मालामाल बनाउँछ भने नवप्रवेशी सानो सानो आकारका कारोबार गर्ने लगानीकर्ता र बैंकहरु टाट उल्टिने जोखिम हुन्छ । यद्यपि नेपाल बैंकहरुले अत्यन्तै न्यून मात्रै लगानी गरेको दावी गरेका छन् । तर, अनौपचारिक स्रोतहरुले शेयर धितोमा प्रवाह भएको कर्जालाई व्यक्तिगत कर्जामा राखेका कारण बैंकहरुको लगानी सम्बन्धी वास्तविक तथ्याङ्क बाहिर आउन बाँकी छ । अपारदर्शी रुपमा लगानी गरेको बैंकहरुले समेत ठूलो मूल्य चुकाउनु पर्ने अवस्था नआउला भन्न सकिदैन ।
शेयर मूल्य लगातार घट्दै गएमा लहैलहैमा लागेर ऋण खोजेर शेयर बजारमा प्रवेश गरेका लाखौं मानिसहरुमा निराशा भाव विकास हुने खतरा बढेको छ । यसले आगामी कैयौं वर्षसम्म नेपाली शेयर बजारमा डुब्ने, जुवा, फसिने नकारात्मक प्रचार हुन पुग्ने निश्चित छ ।

यसअघिका अर्थमन्त्री विष्णु प्रसाद पौडेलले माफियासँगको सेटिङमा शेयर मूल्य अचाक्ली बृद्धि गर्दा सर्वसाधारण लगानीकर्ताहरुको खर्बौ रुपैयाँ फस्ने जोखिम छ । संगठित कम्पनीले गर्ने प्रगति, उसले वितरण गर्ने लाभांशको आधारमा शेयर मूल्य तय हुनुपर्नेमा कारोबार गर्दा गर्दै मुनाफा आउँछ भन्ने भ्रमका कारण अधिकतम् २००० को बिन्दुमा हुनुपर्ने समग्र मूल्य परिसूचक ३२०० बिन्दुसम्म पुगेको अवस्था छ । ३००० भन्दा माथि परिसूचक भएका दिन शेयर खरिद गरेकाहरुले बिक्री गर्दा ब्याजसहित नाफा लिनको लागि कम्तीमा ४००० पुग्नु पर्ने देखिन्छ । वर्तमान सरकारले लिएको समाजवादी नीतिका कारण शेयर बजार उल्टो दिशातर्फ अघि बढेमा २५०० माथि हुँदा शेयर खरिद गरेका लाखौं सर्वसधारण खर्बाै रुपैयाँ एकै घण्टामा चैट हुँदैन भनेर भन्न सकिदैन ।

शेयर बजारमा कारोबार सचेततापूर्वक गर्दा आफू र सिंगो शेयर बजार दुवै सुरक्षित हुँदा तर एक जना अत्तालिएमा लाखौं सवार सिंगो डुंगा डुब्छ भन्ने तथ्यलाई मनन् गर्न–गराउन सकेमा नेपाली शेयर बजार जिडिपी भन्दा माथि पुग्दा पनि अझै अघि बढाउन सकिन्छ । अन्यथा नयाँ लगानीकर्ता र सर्वसधारण मुर्गा बन्ने माफियाहरु माछा फुत्के झै फुत्कनेछन् सबैलाई समयमै चेतना भया ।

One thought on “शेयर बजारमा सर्वसाधारणको खर्बौ रुपैयाँ जोखिममा, नयाँ लगानीकर्ता ‘मुर्गा’ बन्दै

  1. रजन ढुङ्गेल says:

    साना लगानिकर्ता मा ध्यानाकर्षण गरियोस।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*