डा. जेन गुडालको नेतृत्वमा लक्ष्मी सनराइज बैंकको नेटिभ पकेट वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौँ । वातावरणीय दिगो विकास र स्थानीय जैविक विविधता सुधारका लागि जेन गुडाल इन्स्टिच्यूट नेपाल, लक्ष्मी सनराइज बैंक, टिका विद्याश्रम उच्च माध्यमिक विद्यालय र रेभोल्युसन प्रोजेक्टको सहकार्यमा काठमाडौँको टिका विद्याश्रम उच्च माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमअन्तर्गत २५० वटा नेटिभ पकेट वन बनाउने उद्देश्यले वृक्षारोपण गरिएको हो।
कार्यक्रममा विश्व प्रसिद्ध एथोलोजिस्ट र वातावरणविज्ञ डा. जेन गुडालले उपस्थिति जनाउँदै रुखप्रति आफ्नो सम्मान व्यक्त गर्दै वातावरणीय शिक्षा र दिगो विकासमा यस पहलको योगदानको प्रशंसा गरिन्। उनले लक्ष्मी सनराइज बैंकको वातावरणीय संरक्षणका लागि गरिएको प्रतिवद्धता र विभिन्न अभ्यासहरुको सराहना पनि व्यक्त गरिन्।
यस वृक्षारोपण कार्यक्रमको नेतृत्व रेभोल्युसन प्रोजेक्टका विज्ञहरूले गरेका थिए, र वृक्षारोपण मियावाकी प्रविधिबाट गरिएको थियो। यस प्रविधिले छोटो समयमा घना वन सिर्जना गर्ने क्षमता राख्दछ र जैविक विविधता वृद्धि गर्नमा योगदान पुर्याउँछ। साथै, यसले स्थानीय पर्यावरणलाई फाइदा पुर्याउने र विद्यार्थी तथा समुदायसँग दीर्घकालीन सम्बन्ध प्रोत्साहन गर्ने लक्ष्य राख्दछ।
लक्ष्मी सनराइज बैंकको आर्थिक सहयोगमा सम्पन्न यस पहलले बैंकको ९औं आमन्त्रण गल्फ प्रतियोगितामा १००० वटा रुख रोप्ने प्रतिबद्धताको एक हिस्सा बनाएको छ। यो सहकार्य वातावरणीय संरक्षणको लागि वातावरणीय विज्ञ, व्यवसाय र शैक्षिक संस्थाहरू बीचको साझेदारी र सामूहिक प्रयासको महत्त्वलाई उजागर गर्दछ।