धितोपत्र बोर्डका कार्यकारी निर्देशक पोखरेलद्वारा राजीनामा, आन्तरिक मनमुटावको संकेत
काठमाडौँ । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक कृष्णराज पोखरेलले पदबाट राजीनामा दिएका छन्। उनले व्यक्तिगत कारण देखाउँदै माघ ७ बाट लागू हुने गरी राजीनामा दिएका हुन्।
बोर्ड स्रोतका अनुसार पोखरेलले एक महिनाको नोटिससहित राजीनामा पत्र बुझाएका छन्। साथै, यस अवधिमा कार्यालय नआउने जानकारीसमेत गराएका छन्।
दुई वर्षअघि बोर्डका अध्यक्ष रमेश हमालको नियुक्तिपछि पोखरेल कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए। पछिल्ला केही महिनायता बोर्डभित्रको आन्तरिक विवादले पोखरेललाई असहज बनाएको बताइन्छ।
सेबोनका वर्तमान अध्यक्ष सन्तोषनारायण श्रेष्ठले मंसिर दोस्रो साता पोखरेललाई नीति, अनुसन्धान र तालिम विभागबाट सुपरिवेक्षण विभागमा सरुवा गरेका थिए। तर, नयाँ जिम्मेवारी पाएको एक महिनाभित्रै पोखरेलले राजीनामा दिएका हुन्।
बोर्डभित्रको आन्तरिक सम्बन्धमा चिसोपन बढ्दै गएको कारणले पनि पोखरेलले पद त्याग गरेको बताइन्छ। बोर्डको संचालक समितिसँगको बढ्दो मनमुटावले राजीनामामा मुख्य भूमिका खेलेको स्रोतको दाबी छ।