एकैदिन चार कम्पनीद्वारा लाभांश घोषणा, कुनले कति बोनश र नगद दिदैछन ?
काठमाडौँ । लाभांश सिजन चलिरहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्सें) मा सूचीकृत भएका विभिन्न क्षेत्रका कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुको लागी प्रतिफल घोषणा गर्नेक्रम जारी छ ।
बुधबार अर्थात आज विभिन्न क्षेत्रका चार कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गरेका छन् । आज नेष्डो समृद्ध लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक र सांग्रीला विकास बैंकले आफ्ना लगानीकर्ताहरुलाई क्षमता अनुसारको लाभांश प्रस्ताव गरेका छन् ।
साथै, पुँजी बजारमा पछिल्लो समय सर्वाधिक कारोबार भईरहेको नेपाल फाइनान्सले आफ्ना लगानीकर्ताहरुको हात रित्तो बनाएको छ । कम्पनी सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट कुनै पनि प्रकारको प्रतिफल वितरण नगर्ने निर्णय गरेको छ । जस कारण लगानीकर्ता निराश बन्न पुगेका छन् ।
कुथेली बुखरी स्मल हाइड्रोपावर
कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताका लागी १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्तावलाई पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले उक्त लाभांश प्रस्ताव पारित गर्नको लागि नयाँ बानेश्वरस्थित काठमाडौं ब्याङ्क्वेट प्रा। लि। मा बिहान साढे १० बजेदेखि वार्षिक साधारणसभा पनि आह्वान गरेको छ ।
ग्रीन डेभलपमेन्ट बैंक
ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुल ६.०५२७ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको पुष २ गते बसेको सञ्चालक समितिको निर्णयले उक्त लाभांश प्रस्ताव गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको आधारमा ५.७५ प्रतिशत बोनस शेयर र ०.३०२७ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ६.०५२७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् शेयरधनीमा वितरण हुनेछ ।
नेष्डो समृद्ध लघुवित्त
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
संस्थाले प्रस्तावित लाभांशमध्ये १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।
सांग्रिला डेभलपमेन्ट बैंक
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीलाई ३.८४ प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा ३.६५ प्रतिशत बोनस शेयर र ०.१९ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो । हाल बैंकको चुक्ता पूँजी तीन अर्ब ४३ करोड ९ लाख ७१ हजार रुपैयाँ छ ।
घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ ।