साढे ७७% ले बढ्यो बैंकहरुको गैरबैंकिङ्ग सम्पत्ति: ग्लोबल र एनआईसीको सबैभन्दा धेरै, कुनसँग कति ?
काठमाडौँ । वाणिज्य बैंकहरूको गैरबैंकिङ्ग सम्पत्ति चालु आर्थिक वर्षको पहिलो चार महिनामा उल्लेख्य रूपमा वृद्धि भएको छ । हाल संचालनमा रहेका वाणिज्य बैंकको गैरबैंकिङ्ग सम्पत्ति चालु आवको कात्तिक मसान्तसम्मको अवधिमा ७७.५० प्रतिशतले बढेको हो ।
बैंकहरूले नउठेको कर्जाको धितो लिलाम बिक्री हुन नसकेपछि आफैंले स्वीकृत गरेर राख्ने सम्पत्तिलाई गैरबैंकिङ्ग सम्पत्ति मानिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ३२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । यो रकम गत आर्थिक वर्षको सोहि अवधिमा १८ अर्ब २१ करोड ८४ लाख रुपैयाँ रहेको थियो ।
गैरबैंकिङ्ग सम्पत्ति भनेको बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुली गर्न नसकेपछि ऋणको धितो लिलामीमार्फत बिक्री हुन नसक्दा आफैंले आफ्नो स्वामित्वमा लिने सम्पत्ति हो । यस्तो सम्पत्ति बैंकले आफ्नो प्राथमिक व्यवसायबाट नभई वैकल्पिक रूपमा लिने भएकाले यसलाई गैरबैंकिङ्ग सम्पत्ति भनिन्छ । तथ्यांकअनुसार ग्लोबल आईएमई बैंकको गैरबैंकिङ्ग सम्पत्ति सबैभन्दा धेरै रहेको छ । यस बैंकसँग ५ अर्ब १३ करोड १३ लाख रुपैयाँ बराबरको गैरबैंकिङ्ग सम्पत्ति छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १७९.३३ प्रतिशतले बढी हो ।
गैरबैंकिङ्ग सम्पत्ति धेरै हुने दोस्रो स्थानमा रहेको एनआईसी एशिया बैंक रहेको छ । चालु आवको चार महिनामा एनआईसीसँग ४ अर्ब २२ करोड ६० लाख रुपैयाँको गैरबैंकिङ्ग सम्पत्ति रहेको छ ।
त्यस्तै, हिमालयन बैंकको गैरबैंकिङ्ग सम्पत्ति ३३९.२० प्रतिशतले बढेर ३ अर्ब ६३ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६५.५० प्रतिशतले बढेर ३ अर्ब ३ करोड, कुमारी बैंकको ७७.१० प्रतिशतले बढेर २ अर्ब ६६ करोड, नबिल बैंकको ४५.०६ प्रतिशतले बढेर २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।
चालु आवको कात्तिक मसान्तसम्ममा प्राइम बैंकको ५.७५ प्रतिशतले घटेर १ अर्ब ६९ करोड, लक्ष्मी बैंकको ३०.२६ प्रतिशतले बढेर १ अर्ब ५९ करोड र प्रभु बैंकको १०६.१९ प्रतिशतले बढेर १ अर्ब ५ करोड रुपैयाँ बराबरको गैरबैंकिङ्ग सम्पत्ति छ । माछापुच्छ्रे बैंक र एनएमबि बैंकसँग क्रमशः १ अर्ब ३ करोड र १ अर्ब २ करोड रुपैयाँको सम्पत्ति रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
कृषि विकास बैंकसँग ९८ करोड ३३ लाख रुपैयाँ गैरबैंकिङ्ग सम्पत्ति छ । सिटिजन बैंकले ८० करोड ९९ लाख, सानिमा बैंकले ७० करोड ८५ लाख र सिद्धार्थ बैंकले ७० करोड ३८ लाख रुपैयाँ बराबरको गैरबैंकिङ्ग सम्पत्ति कायम गरेका छन् ।
एभरेस्ट बैंकको गैरबैंकिङ्ग सम्पत्ति ५१ करोड १२ लाख रुपैयाँ छ भने नेपाल एसबीआई बैंकको ३५ करोड २९ लाख रुपैयाँ रहेको छ । राष्ट्रिय वाणिज्य बैंकसँग २९ करोड ७६ लाख र नेपाल बैंकसँग २० करोड ४१ लाख रुपैयाँको सम्पत्ति छ ।
गैरबैंकिङ्ग सम्पत्तिको यो वृद्धिले बैंकहरूलाई कर्जा उठाउन थप चुनौती थपेको देखिन्छ । बैंकहरूले लिलामीमार्फत धितो बिक्रीमा सफलता नपाएपछि गैरबैंकिङ्ग सम्पत्तिको मात्रा बढ्दै गएको हो । यसले बैंकहरूको सम्पत्ति व्यवस्थापन क्षमता र जोखिम न्यूनीकरण रणनीतिलाई पुनर्विचार गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । गैरबैंकिङ्ग सम्पत्तिमा भइरहेको यो वृद्धि बैंकिङ क्षेत्रको जोखिम व्यवस्थापनमा ठूलो प्रभाव पार्न सक्ने देखिन्छ ।