हालसम्म एलआईसी नेपाल र एनएलजी इन्स्योरेन्सको हकप्रदमा कति पर्यो आवेदन ?
काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड र एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर जारी गरेका छन् । एलआईसीले मंसिर १२ गतेदेखि र एनएलजीले ११ गतेदेखि हकप्रद निष्कासन गरेको हो ।
कति पर्यो आवेदन ?
एलआईसी नेपाल
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) को हकप्रदमा ३४ करोड ३८ लाख ४ हजार ३०० रुपैयाँको आवेदन परेको छ । सिडिएसका अनुसार आज अर्थात् पुष १ गते साँझ ५ः०६ बजेसम्म ९ हजार ४३० जनाले ३४ लाख ३८ हजार ४३ कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत बराबरको हकप्रद शेयर बिक्री खुला गरेको हो । कम्पनीले १ कित्ता साधारण शेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता अनुपातमा हकप्रद निष्कासन गरेको हो । कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।
कम्पनीले कात्तिक ९ गते बुक क्लोज गरिसकेकाले कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र यो हकप्रद शेयरमा आवेदन दिन योग्य हुनेछन्। यस हकप्रद शेयरमा लगानीकर्ताले पुस २ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धकका साथै एलआईसी नेपालका सम्पूणर् शाखा कार्यालय तथा आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्।
हकप्रद निष्कासन प्रयोजनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ‘ए प्लस’ प्रदान गरेको छ। यस रेटिङ्गले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा पर्याप्त सुरक्षा रहेको देखाउँछ। हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ। हकप्रद शेयर बाँडफाँडपछि चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ।
एनएलजी इन्स्योरेन्स
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रदमा २१ करोड ६० लाख ४६ हजार ८०० रुपैयाँको आवेदन परेको छ । आज अर्थात् पुष १ गते साँझ ५ः०६ बजेसम्ममा १५ हजार ९३ जनाले २१ लाख ६० हजार ४६८ कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले हकप्रद प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता खुल्ला गरेको हो । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । उक्त हकप्रद शेयरमा कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरूले पुष १६ गतेसम्म आवेदन दिन सक्नेछन ।
हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई समयमा वित्तीय दायित्व वहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै एनएलजी इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरू र लक्ष्मी सनराइज बैंकका काठमाडौं उपत्यका बाहिरका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था छ । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । अनलाइन आवेदनका लागि मेरो शेयर समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।