सरकार परिवर्तनको हल्लाले पुँजी बजारमा पहिरो, अधिकांश कम्पनीको मूल्य घट्दो

१ पुष २०८१, सोमबार १२:०४

काठमाडौँ । पछिल्लो समय सरकार परिवर्तनको चर्चा चुलिएसँगै शेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ। सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सम्बन्धमा खटपट भएको खबर बाहिरिएपछि लगानीकर्ता अन्योलमा परेका छन्।

नेपाली शेयर बजारमा राजनीतिक अस्थिरताको प्रत्यक्ष असर पर्ने प्रवृत्ति लामो समयदेखि देखिँदै आएको छ। नयाँ सरकार गठनसँगै नीतिगत अन्योलता सिर्जना हुने र यसले लगानी वातावरणमा अवरोध पु¥याउने क्रम जारी छ। वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अस्थिर हुने हल्लापछि लगानीकर्तामा निराशा थपिएको हो।

विशेषगरी, अर्थमन्त्री विष्णु पौडेलको नीतिहरूप्रति लगानीकर्ताले सकारात्मक धारणा राख्दै आएका छन्। तर, सरकार नै संकटमा परेको अड्कलबाजीले शेयर बजार राताम्य भएको छ। लगानीकर्ताहरू हतारमा आफ्नो पोजिसन क्लियर गर्न थालेका कारण बजारमा गिरावट आएको देखिएको छ।

राजनीतिक अस्थिरताले आर्थिक क्षेत्रको दीर्घकालीन स्थायित्वमा गम्भीर चुनौती खडा गर्ने हुँदा यसतर्फ सत्तारूढ दलहरूले समयमै ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ। शेयर बजारमा विश्वास कायम गर्न सरकारको स्पष्ट नीति आवश्यक रहेको लगानीकर्ताहरूको माग छ ।

यो समाचार तयार पार्दा अर्थात् १२ः०२ बजेसम्म बजार ४९.७३ अकंले घटेर २६३२ बिन्दुमा पुगेको छ । कारोबार १ अर्ब ६४ करोड भएको छ । यता अधिकांश कम्पनीको शेयर मूल्यमा पहिरो गएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*