पेट्रोलको मूल्य बढ्दा डिजेल र मट्टितेल सस्तियो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएर डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर दुई रुपैयाँले महँगो भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको छ।
नयाँ मूल्यअनुसार पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६१ रुपैयाँ र तेस्रो वर्गका लागि १६२ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि १४८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५० रुपैयाँ र तेस्रो वर्गका लागि १५१ रुपैयाँ तोकिएको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्छन्।
निगमका अनुसार डिपोदेखि १५ किलोमिटरसम्मका लागि यो नयाँ मूल्य लागू हुनेछ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ २८ पैसाले वृद्धि भएको र डिजेलमा प्रतिलिटर एक रुपैयाँ ४८ पैसा घटेकाले मूल्य समायोजन गरिएको हो।