बीमा प्राधिकरणमा निमित्त अध्यक्ष तोकिएका दाहालले कार्यभार सम्हाले
काठमाडौं । नेपाल बीमा प्राधिकरणको निमित्त अध्यक्षको जिम्मेवारी पाएका अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले कार्यभार सम्हालेका छन् । शुक्रबार प्राधिकरणमा उपस्थित भएर सहसचिव दाहालले निमित्त अध्यक्षको कार्यभार सम्हालेका हुन् ।
अर्थमन्त्रालयले नीतिगत निर्णय गर्दै मन्त्रालयका सहसचिव मदन दाहाललाई अध्यक्षका रुपमा कामकाजको जिम्मेवारीमा तोक्ने निर्णय गरेको थियो ।
बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहेका दाहाललाई बीमा प्राधिकरणको अध्यक्षका रुपमा कामकाज गर्ने गरी तोकिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी स्वतह निलम्बित भएका थिए । सो पश्चात् प्राधिकरणको रिक्त पदका लागि अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने कामु अध्यक्ष पठाएका हुन्।
यसअघि दाहाल नेपाल बीमा प्राधिकरणको संचालक समेत भएर काम गरिसकेका छन् ।