राताम्यमा गुम्दै अर्बौं लगानीः नियामकको मन्त्र भाषणमा सीमित हुँदा खिन्न लगानीकर्ता, बजारमा जादु कसरी आउँला?
काठमाडौँ । पछिल्लो समय शेयर बजार निरन्तर ओरालो यात्रा तिर लम्कि रहेको छ। बजारले लगातार राताम्य हुँदा लगानीकर्तामा आशंका र दुविधा सिर्जना गरेको छ, जसले बजारको भविष्यप्रति अनिश्चितता उत्पन्न गरेको छ।
बजारमा आइरहेको गिरावटले लगानीकर्ताको अर्बौं रकम गुमाउँदै गएको छ। हाल शेयर सूचक २७०० देखि २६०० को बीचमा झुलिरहेको देखिएको छ। यस साताको बुधबारको कारोबार दिनमा नेप्से २७ सयको स्तरमा पुग्दा सामान्यतया लगानीकर्तामा उत्साहको एक लहर फैलिएको थियो। तर, यो वृद्धि १ दिनमै समाप्त हुँदा नेप्से पुनः २६०० को स्तरमा फर्किएको हो। यसले लगानीकर्तामा पुनः असमञ्जस र दुविधा उत्पन्न गरेको छ, जसले गर्दा बजारमा थप गिरावटको चक्र सुरु भएको छ।
नेप्सेले लामो समयदेखि साइडवेज अर्थात् अपरिवर्तित स्थितिमा कारोबार गरेको छ। यसले बजारमा गति नपाएको र लगानीकर्तामा आत्मविश्वासको कमी भएको देखाइरहेको हो। यस समयमा, लगानीकर्ताहरूले बजारको पुनः सुधारको लागि केही ठोस र सकारात्मक समाचारको अपेक्षा गरिरहेका थिए। तर, लगानीकर्ताको अपेक्षामा केन्द्रिय बैंक बाधक बन्यो। लगानीकर्ताले मौद्रिक नीतिको पहिलो समिक्षा मार्फत केहि नीतिगत सुधारको आश गरेको थिए। केन्द्रीय बैंकले मौद्रिक नीति समिक्षा गर्दा बजारलाई फाइदा पुग्ने कदमहरू नदेख्दा लगानीकर्ताहरूको आत्मविश्वास थप कम भएको छ।
मनोबल कमजोर, नियामक भाषणमुखी
शेयर बजारमा लगानीकर्ताको मनोबलसँगै नियामकको भुमिका पनि उत्तिकै ठुलो हुन्छ। तर, नेपालका नियामक निकाय भाषणमुखी मात्र हुँदा लगानीकर्ता निराश बन्दै गएका छन्।
धितोपत्र बोर्डमा लामो समयपछि सन्तोषनारायण श्रेष्ठको नयाँ नेतृत्व आएको छ। यसले बजार सुधारका लागि केही कदम चाल्ने आशा जगाएको थियो। तर, नियामक निकायबाट कुनै स्पष्ट सुधारको संकेत नआएपछि, बजारको गति नपाउनुको मुख्य कारण बनेको छ। लगानीकर्ताहरूका अनुसार, सुधारात्मक कदमहरू बिना बजारलाई लचिलो बनाउन कठिन छ। नियामक निकाय बजारप्रति सकारात्मक भएपनि नीति सुधारका कुनै कार्य भने हुन सकेका देखिदैन।
विशेषगरी, १८०० बिन्दुमा रहेको शेयर बजार अर्थमन्त्रीको रुपमा विष्णु पौडेल आएपछि ३००० बिन्दुसम्म पुगेको थियो। पौडेललाई लगानीकर्ताहरूले शेयर बजारमैत्री अर्थमन्त्रीको रुपमा लिएका थिए। उनको आगमनसँगै सुरुवातमा बजारमा रौनक देखिएको थियो। तर, भाषणमा शेयर बजार सुधारका लागि प्रतिबद्ध गरेको बताउँदै आएका अर्थमन्त्रीले शेयर बजार सुधारका लागि कुनै पहल गरेको देखिदैन। पौडेलको भाषण भाषणमै सीमित हुँदा लगानीकर्ता चिन्तित बनेका छन्।
हाल, बजारको वातावरण सुधारको लागि आम लगानीकर्ताको मनोबल उचाइमा जान आवश्यक छ। यदि लगानीकर्ताको मनोबल सकारात्मक छैन भने, बजारले अपेक्षित गति लिन सक्दैन। त्यसैले, यो समयको आवश्यकता सकारात्मक मनोविज्ञान र लगानीकर्तामा विश्वास बढाउनका लागि विभिन्न प्रयासहरू गर्नुपर्ने देखिन्छ।
अल्पकालीन र दीर्घकालीन लगानीकर्ताबीचको अन्तर
अल्पकालीन लगानीकर्ताहरू र दीर्घकालीन लगानीकर्ताबीचको मानसिकतामा ठूलो भिन्नता देखिन्छ। अल्पकालीन लगानीकर्ताहरू दैनिक उतारचढावबाट प्रभावित हुन्छन् र बजारका सानो उतारचढावका कारण उनीहरू छिटो निर्णयमा पुग्न सक्छन्। उनीहरूको ध्यान मात्र आजको मुनाफा र घाटामा हुन्छ।
अर्का तर्फ, दीर्घकालीन लगानीकर्ताहरू वित्तीय सूचक र लाभांश दरको विश्लेषण गरेर निर्णय गर्छन्। उनीहरूले बजारका साधारण उतारचढावलाई महत्व दिदैनन् र समयको साथमा मूल्य वृद्धिका सम्भावनामा विश्वास गर्छन्। यस्तो लगानीकर्ताले दीर्घकालीन सोच राख्दछन् र कम्पनीको मुनाफा, इपीएस, रिजर्भ, नेटवर्थजस्ता वित्तीय सूचकलाई आधार बनाउँछन्। दीर्घकालीन रणनीतिका कारण, यस्ता लगानीकर्ताहरूको लागि बजारमा सापेक्षिक उतारचढाव कम महत्त्वपूर्ण हुन्छ।
शेयर बजार उच्च जोखिमको क्षेत्र हो र यहाँ पर्याप्त ज्ञान र अनुभवको आवश्यकता पर्दछ। विशेष गरी अहिलेको समय, जहाँ बजार अनिश्चित छ र लगानीकर्तामा मनोवैज्ञानिक प्रभावको ठूलो भूमिका छ, त्यहाँ बजारमा स्थिरता र सुधार ल्याउन निश्चित रणनीतिहरू आवश्यक छन्।
सूचक सबै सकारात्मक
अहिले मुख्यतः शेयर बजारका लागि आवश्यक सूचकहरू सकारात्मक नै रहेका छन्। पछिल्लो समय बैंकिङ प्रणालीमा उच्च तरलता र ब्याज दरको गिरावटका कारण बजारलाई माथि लैजानका लागि केही प्रयास भइरहेको देखिन्छ। सूचक राम्रो हुँदाहुँदै पनि अहिले लगानीकर्ताले नियामकको साथ खोजी गरिरहेका छन्।
लगानीकर्ताले आगामी समयका लागि उच्च सम्भावना भएका कम्पनीहरूको चयन गर्न सक्ने हो भने, बजारमा सुधारका संकेत देखिन सक्छ। यद्यपि, केही समस्या जस्तै नयाँ लगानीकर्ताको अभाव र पुरानाहरूको क्रयक्षमता विस्तार नहुनुका कारण बजारमा अलि बढी चुनौतीहरू छन्। विशेष गरी शेयर धितो कर्जा जोखिमको भार उच्च रहेको छ, जसलाई कम गर्नु आवश्यक छ। यसका साथै, प्रविधिमा सुधार पनि जरुरी छ। अधिकतर लगानीकर्ताहरूलाई सोच्न बाध्य पार्ने कुरा भनेको नीतिगत सुधारको आवश्यकता हो।
शेयर बजार अहिले चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ, तर आगामी समयका लागि सकारात्मक सुधारका केही संकेतहरू पनि छन्। दीर्घकालीन लगानीकर्ताका लागि अहिलेको बजारमा पनि अवसरहरू छन्, तर अल्पकालीन दृष्टिकोणबाट बजारलाई हेरिरहेका लगानीकर्तालाई सतर्क रहन आवश्यक छ।
बालुवामा पानी खनाउँदै लगानीकर्ता
नेपालको पुँजी बजारमा पछिल्ला दिनमा डुब्नै लागेको अवस्था भएका कम्पनीहरूको शेयर मूल्यमा निरन्तर उछाल देखिनु नौटङ्कीको खेलजस्तै भएको छ। कमजोर वित्तीय अवस्था भएका कम्पनीहरूले दिनानुदिन सकारात्मक सर्किटमार्फत मूल्य उचालिरहेका छन्, जसले बजारमा नयाँ लगानीकर्ताको आकर्षण तानिरहेको छ।
प्रायः कम पुँजी भएका कम्पनीहरूको वित्तीय अवस्था जतिसुकै नाजूक भए पनि मूल्य दिनानुदिन सकारात्मक सर्किटमा कारोबार हुने गरेको छ। सीमित व्यक्ति वा समूहले उचालेका यस्ता शेयरमा आम लगानीकर्ताले पनि पर्याप्त ज्ञानबिनै बढ्दो बजारमा जति पनि मूल्य तिरिरहेको देखिन्छ। केहि समूह अर्थात् माफियाले उचालिरहेको शेयरमा नवप्रवेश लगानीकर्ताले लहलहैमा बालुवा पानी खनाए झै लगानी खनाइ रहेका छन्।
तर, जुन दिन ठुला लगानीकर्ता सोझा तथा प्रायाप्त ज्ञान नभएका लगानीकर्ता शेयर भिडाएर हिड्छन्, त्यो दिन ति लगानीकर्ताले शेयर बजारलाई जुवा घर भनेर प्रचार गर्छन्। माफियाको लहलहैमा लागेर रातारात धनी बन्ने सोच राखेका केहि लगानीकर्ताले फसेपछि शेयर बजारलाई जुवाघर भन्दै प्रचार प्रसारण गरेको पाइन्छ।
नाजुक कम्पनीको पुँजी बजारमा रजगज, माफिया खेल्दा आँखा चिम्लिएर लगानी गर्दै लगानीकर्ता