बढ्यो महँगी, खाद्य समूहको उच्च
काठमाडौँ । चालु आर्थिक वर्षको कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) ५.६० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो ५.३८ प्रतिशत थियो।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय अवस्थाको विवरणअनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.१० प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारीको मूल्य ३३.९९ प्रतिशतले उकालो लागेको छ। दाल तथा गेडागुडीको मूल्य १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य वस्तुको १०.१५ प्रतिशत, र घ्यू तथा तेलको ९.२९ प्रतिशतले वृद्धि भएको छ। तर, मरमसला उपसमूहको मूल्य १.४१ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको १.२८ प्रतिशत र माछा तथा मासुको ०.०२ प्रतिशतले घटेको छ।
गैर खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवाको मूल्य १०.४१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.३५ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ४.५७ प्रतिशत, र सुर्तीजन्य पदार्थको ४.२४ प्रतिशतले बढेको छ।
ग्रामीण र सहरी क्षेत्रको मुद्रास्फीति
ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.१९ प्रतिशत रहेको छ भने सहरी क्षेत्रमा यो ५.३९ प्रतिशत पुगेको छ।
कोशी प्रदेशमा उपभोक्ता मुद्रास्फीति ७.१९ प्रतिशत, मधेश प्रदेशमा ५.७२ प्रतिशत, बागमती प्रदेशमा ५.३५ प्रतिशत, गण्डकी प्रदेशमा ४.६९ प्रतिशत, लुम्बिनी प्रदेशमा ५.१० प्रतिशत, कर्णाली प्रदेशमा ३.२१ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ६.५७ प्रतिशत रहेको छ।
काठमाडौं उपत्यकाको मुद्रास्फीति ५.४२ प्रतिशत, तराईमा ५.७२ प्रतिशत, पहाडमा ५.१५ प्रतिशत, र हिमालमा ६।७८ प्रतिशत रहेको छ।