महालक्ष्मी विकास बैंकले दरबारमार्गमा ‘डिजिटल भुक्तानी केन्द्र’ सञ्चालनमा ल्यायो

२७ मंसिर २०८१, बिहीबार १६:१७

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरूलाई अत्याधुनिक डिजिटल भुक्तानी सुविधा उपलब्ध गराउने लक्ष्यसहित दरबारमार्गस्थित शाखा कार्यालयमा डिजिटल भुक्तानी केन्द्र सञ्चालनमा ल्याएको छ। बुधवार आयोजित एक विशेष कार्यक्रममा उक्त केन्द्रको उद्घाटन गरिएको हो।

बैंकले डिजिटल भुक्तानी केन्द्रमार्फत विभिन्न अनलाइन भुक्तानी सेवा प्रदान गर्ने नीति लिएको छ। ग्राहकहरूले सुरक्षित र आधिकारिक इलेक्ट्रोनिक भुक्तानी प्लेटफर्म प्रयोग गरी भिसा शुल्क, विदेश अध्ययनका लागि आवेदन तथा अध्ययन शुल्क, पिटीई, स्याट, यूएसएमएलई, जिआरई, एसीसीए जस्ता कोर्सहरूको शुल्क र सेभिज शुल्क सहज र झन्झटरहित रूपमा तिर्न सक्नेछन्।

बैंकका अनुसार यस प्रकारको सेवा शुभारम्भसँगै ग्राहकहरूको डिजिटल माध्यमबाट शुल्क भुक्तानी गर्ने चाहना पूरा हुनेछ। बैंकले डिजिटल भुक्तानी सेवामा आफ्नो भूमिका थप प्रभावकारी बनाउँदै ग्राहकहरूलाई सरल, सुरक्षित र सहज अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ।

यस अघि पनि महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो। बैंकले अन्तरदेशीय क्युआर भुक्तानी सेवा प्रदान गर्न आफूलाई अग्रणी सेवाप्रदायकका रूपमा स्थापित गर्ने विश्वास लिएको छ।

डिजिटल बैंकिङ्ग सेवा सुदृढ गर्न बैंकले हालै “महालक्ष्मी स्मार्ट साथी” मोबाइल एप्लिकेसनको परिष्कृत संस्करण सार्वजनिक गरेको छ। बैंकले यस एपमार्फत ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित र सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको छ।

नेपालभरका शाखा सञ्जाल र मर्चेन्ट नेटवर्कको माध्यमबाट बैंकले डिजिटल भुक्तानीको पहुँच बढाउन र ग्राहकहरूको जीवनलाई सरल बनाउन प्रतिबद्ध रहेको जनाएको छ। डिजिटल सेवाहरूमा नवीनतम प्रयोगका लागि महालक्ष्मी विकास बैंकले आफ्नो अग्रसरता निरन्तर जारी राख्ने बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*