नेपाल स्काउट जग्गा घोटाला : खटाई-खटाई खुद्रे रकम बुझाएर भाग्ने लाइनमा उर्जामन्त्रीको खड्काल्याण्ड
काठमाडौं । ऊर्जामन्त्री दीपक खड्का जोडिएको खड्काल्याण्ड डेभलपमेन्ट प्रालिले लैनचौरस्थित नेपाल स्काउटको जग्गा र संरचना भोगचलन गरेबापत तिर्नुपर्ने बक्यौता १० दिनभित्र तिर्ने भनिएको प्रचारबाजी जालझेलपूर्ण देखिएको छ ।
१५ वर्षदेखि भोगचलन गरेको भाडा असुल र जग्गा एवं संरचना खाली गराउनका लागि पहल गरिदिन संसद्का तीनवटा समितिमा स्काउटले दिएको उजुरी सार्वजनिक भएसँगै बक्यौता तिर्न तयार भएको खड्काल्याण्डले बाहिर एउटा कुरा, भित्र अर्कै रणनीति अपनाएको देखिन आएको छ ।
न्यायालयले वक्यौता तिर्न तथा जमिन र संरचना खाली गर्न भनी दिएको आदेश समेतको अवज्ञा गरेको खड्काल्याण्डले बुधबार विज्ञप्ति जारी गरेर १० दिनभित्र साँवा वक्यौता भुक्तानी गर्ने प्रतिवद्धता जनाएको छ ।
तर, भित्रि कुरा अर्कै छ, खुद्रे रकम बुझाएजस्तो गरेर उम्किने । खड्काल्याण्डका एक सञ्चालकका अनुसार कम्पनीले किस्ताबन्दीमा रकम तिरिरहेको छ । तर, हिसाब किताब छैन, छरपस्ट छ । बीमापोष्टसँग उनले भने, मिडिया र सोसियल मिडियामा थरीथरीका सामग्रीहरु आउन थालेपछि हामी विज्ञप्ति निकाल्न बाध्य भएका हौँ । तर, कम्पनीले सकेको रकम किस्ताबन्दीमा तिरिरहेको छ । त्यसको स्लिप हामीले सुरक्षित राखेका छौँ । गएको कार्तिक १ गते २५ लाख, यहि मंसिर २ गते ५० लाख रुपैयाँ हामीले स्काउटको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा रहेको खातामा जम्मा गरेको भौचर सुरक्षित छ ।
खड्काल्यान्डले स्काउटलाई तिर्नुपर्ने साँवाको अद्यावधिक हिसाब कति हो भन्नेबारे उनले केही बताएनन् । तर, एक करोड ५९ लाख साँवा नै वक्यौता छ भने विजुलीको विल भने कम्पनीले छुट्टै तिरिरहेको छ ।
०७५ देखि थपिँदै आएको जरिवाना मात्रैको वक्यौता दुई करोड ७८ लाख रहेको नेपा स्काउटले जनाएको छ । बुधबार पनि खड्काल्यान्डले स्काउटको खातामा ५० लाख जम्मा गरिदिएर बाँकी वक्यौता दश दिनभित्र चुक्ता गर्ने प्रतिबद्धतासहित चिठी पठाएपछि साँझ स्काउट र खड्काल्यान्डले संयुक्त विज्ञप्ति निकालेका थिए । स्काउटका तर्फबाट प्रमुख आयुक्त महेन्द्रराज रञ्जित र खड्काल्यान्डका अध्यक्ष विकल थापा क्षेत्रीले हस्ताक्षर रहेको विज्ञप्तिमा व्याज बक्यौतालाई अलग्याएर साँवा बक्यौताबारे मात्रै उल्लेख गरिएको छ । जसलाई व्याज छुट गर्ने छिद्रका रुपमा अथ्र्याइएको छ । यस्तै, खड्काल्याण्डले गएको वैशाखदेखि प्रशासनले ताला लगाएकाले त्यस यताको रकमको जिम्मा नलिने जनाउ दिएको छ ।
स्काउटको लैनचौरस्थित खाली जग्गामध्ये सुरुमा ३ रोपनी मात्रै भाडामा लिएको खड्काल्याण्डले पछि त्यहाँ वरपर भएका पोखरीहरुसमेत पुरेर २८ रोपनी ओगटेको थियो । खड्काल्याण्डले बैंक्वेट र अन्य संरचनाको भाडा तिरे पनि पार्किङमा प्रयोग भएको जग्गाको अहिलेसम्म कुनै पनि हिसाब किताब नगरेको बताइएको छ ।
कोरोनाको लकडाउनअघि नियमित भाडा दिइरहेको भए पनि लकडाउनले व्यवसाय मन्दाएपछि समस्या आएको र वक्यौता रहन गएको खड्काल्याण्डका सञ्चालकहरुको भनाई छ । आफुहरु स्काउटको जग्गा हडप्न आएको नभई संस्था धरासायी भयो भएको जमिन उपयोग भएन भन्दै आफैं पटक पटक स्काउटका पदाधिकारीहरु दिपक खड्काकोमा धाएर भाडा सम्झौता गराएको ती सञ्चालकको भनाई छ ।
यो पनि,
लैनचौरस्थित नेपाल स्काउटको २८ रोपनी जग्गामा उर्जामन्त्री खड्काको गिद्देदृष्टी