नेपाल बैंकर्स संघको नेतृत्वमा १३ वर्षपछि प्रतिस्पर्धाः कोइराला र शेरचनबीच चुनावी भिडन्त
काठमाडौँ । नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा आगामी पुस ३ गते संघको नेतृत्व चयनका लागि १३ वर्षपछि प्रतिस्पर्धा हुने भएको छ। संघको अध्यक्ष, उपाध्यक्ष र तीन सदस्य चयन गर्ने चुनावमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो।
कोइरालाले संघको परम्परा अनुसार उपाध्यक्ष पदमा रहेर अध्यक्ष बन्ने दाबी गरेका छन्। उनले सोमबार आफ्नो मनोनयन दर्ता गरिसकेका छन्। अर्कोतर्फ, शेरचनले मंगलबार अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।
संघमा विगतदेखि वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्ष पदमा रहेका व्यक्तिहरूलाई अध्यक्ष पदका लागि चयन गरिने परम्परा रहँदै आएको छ। तर, शेरचनको उम्मेदवारीले यस प्रचलनमा नयाँ मोड ल्याएको छ।
यसअघि, हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा र शशिन जोशीबीच पनि नेतृत्वका लागि चुनाव भएको थियो। त्यस समयमा परम्पराअनुसार बैंकर्सहरूले अशोक राणालाई समर्थन गर्दै अध्यक्ष पदमा चयन गरेका थिए। त्यसयता, सहमतिको आधारमा राजन सिंह भण्डारी, उपेन्द्र पौडेल, अनिल शाह, ज्ञानेन्द्र ढुंगाना, अनिल उपाध्याय, र सुनिल केसीजस्ता बैंकर्सहरूले संघको नेतृत्व गरेका छन्।
शेरचनले उम्मेदवारी नदिएको खण्डमा कोइराला स्वतः अध्यक्ष हुने निश्चित थियो। तर यस पटकको चुनावी प्रतिस्पर्धाले संघभित्रको नेतृत्व चयन प्रक्रियामा नयाँ रौनक थपेको छ।