बलेफी हाइड्रोपावरको हकप्रद भोलिदेखि बिक्रीमा

२६ मंसिर २०८१, बुधबार १४:०३

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले भोलि (मंसिर २७) देखि शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ कित्ता अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो।

जसअनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्कासन गरिनेछ।

यो हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ। यसका आधारमा कात्तिक २० गतेसम्म कायम शेयरधनीहरूले मात्रै यो हकप्रद खरिदका लागि पुस १७ गतेसम्म आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ। हकप्रद बाँडफाँडपछि यो रकम ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ।

कम्पनीले आयोजना निर्माण गर्दा लिएको १ अर्ब ४० करोडको आंशिक बैंक ऋण, प्रवद्र्धकबाट लिएको ३० करोड ६४ लाख ४६ हजार र ठेकेदार तथा बिक्रेताहरूको १२ करोड १५ लाख २३ हजार रुपैयाँ भुक्तानी गर्न हकप्रद निष्कासन गर्न लागेको हो।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। बिक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
साथै कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ। अनलाइन आवेदनका लागि मेरो शेयर मार्फत् पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*