दुई बैंक र एक लघुवित्तको साधारणसभा भोलि बस्दै

२६ मंसिर २०८१, बुधबार १२:४९

काठमाडौं । भोलि मंसिर २७ गते दुईवटा कमर्सियल बैंक र एउटा लघुवित्त कम्पनीको वार्षिक साधारणसभा बस्दैछ। भोलि ग्लोबल आइएमई बैंक लिमिटेड, नबिल बैंक लिमिटेड र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा बस्न लागेका हुन्।

ग्लोबल आइएमई बैंक
यस बैंकको १८औं वार्षिक साधारणसभा आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेदेखि बस्दैछ। बैंकले गत वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको आधारमा ५.५० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ।

यसका साथै गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरण विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति र सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव सभामा पेश हुनेछ।

सभा प्रयोजनार्थ यस बैंकले मंसिर ९ गते बुक क्लोज गरिसकेकाले मंसिर ८ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

नबिल बैंक
यस बैंकको ४०औं वार्षिक साधारणसभा प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा बिहान १० बजेदेखि बस्दैछ। सभामा गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पेश हुनेछ।

साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा गत आवमा संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ।

त्यसैगरी गत आवका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण गर्ने र दुई जना सञ्चालककको निर्वाचन गर्ने एजेण्डा रहेको छ।

सभा प्रयोजनार्थ बैंकले मंसिर १० गते बुक गरिसकेकाले मंसिर ९ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

हिमालयन लघुवित्त
यस लघुवित्तको १३औं वार्षिक साधारणसभा त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा बिहान १० बजेदेखि बस्दैछ। कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहित वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ। साथै चालू आवका लागि लेखापरीक्षकका नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र दुई जना सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पेश हुनेछ।

त्यसैगरी अन्य लघुवित्तसँग मर्जर र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

सभा प्रयोजनार्थ कम्पनीले मंसिर १६ गते बुक क्लोज गरिसकेकाले मंसिर १३ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिने अवसर प्राप्त गर्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*