बीमा प्राधिकरणमा दैनिक प्रशासनिक काम सुचारु, निर्देशक रेग्मीले लिए नेतृत्व
काठमाडौं । बीमा क्षेत्रका नियामक नेपाल बीमा प्राधिकरण नेतृत्वविहिन हुन पुगेपछिको पछिल्लो परिस्थितिमा बरिष्ठ निर्देशक कमल प्रसाद रेग्मीले सबै दैनिक प्रशासनिक कामहरु अघि बढाएका छन् ।
अध्यक्ष सुर्य प्रसाद सिलवाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै निलम्वनमा परेपछि प्राधिकरण नेतृत्व विहिन हुन पुगेको थियो । प्राधिकरणमा कार्यकारी निर्देशन समेत नभएकोले केही अन्योलता रहेपनि निर्देशकहरु मध्येका सबैभन्दा बरिष्ठ कमल प्रसाद रेग्मीले नियमित, दैनिक प्रशासनिक कामहरु अघि बढाइरहेका छन् ।
बीमापोष्टसँग संक्षिप्त प्रतिक्रिया दिँदै निर्देशक रेग्मीले भने, ‘पछिल्लो परिस्थितिपछि हामीले दैनिक प्रशासनिक कामहरु नरोक्ने र बीमा क्षेत्रको नियमनलाई नियमित जारी नै राखेका छौं ।’
प्राधिकरणका अनुसार बीमा प्राधिकरण कर्मचारी बिनियमावलीमा रहेको स्पष्ट व्यवस्था बमोजिम नै सबैभन्दा माथिल्लो पदमा रहेको व्यक्ति कार्यालय प्रमुख हुने व्यवस्था रहेको र रेग्मीले नेतृत्व सम्हालेका हुन् ।
उता, अर्थमन्त्रालयका उच्च अधिकारीहरु पनि बीमा प्राधिकरणमा कर्मचारीहरुले आफै आफ्नो अधिकार, दायित्व बुझेर काम गर्न अग्रसर हुनुपर्ने धारणा राख्छन् । अर्थका एक अधिकारीले बीमापोष्टसँग भने, ‘स्वायत्त संस्था हो, आफ्नै, ऐन, नियमन, बिनियमावलीहरु छन्, सोही बमोजिम काम गर्न कसैको मुख ताक्नु हुँदैन । आफैले नेतृत्व लिनुपर्दछ । संस्थागत रुपमा विकास हुनुपर्दछ ।’
उता, सरकारले पनि बीमा प्राधिकरणमा अध्यक्ष र कार्यकारी निर्देशक दुवै रिक्त भएपछि तत्कालका लागि कुनै नीतिगत निर्णय गरेर काम चलाउ अध्यक्ष पठाउने तयारी गरिरहेको अर्थमन्त्रालयले जनाएको छ ।