निलम्वित अध्यक्ष सुर्य प्रसाद सिलवालद्वारा ३६ लाख भ्रष्टाचार, सम्पत्ति रोक्का-जफत माग दावी गर्दै मुद्दा दर्ता
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा रहेर दर्जनौं घोटाला काण्डमा संलग्न निलम्वित अध्यक्ष सुर्य प्रसाद सिलवालले ३६ लाख भन्दा बढि रकम भ्रष्टाचारको आरोपमा परेका छन् ।
आयोगले आज विशेष अदालतमा दर्ता गरेको मुद्दामा सिलवालले ३६ लाख ६२ हजार १५४ रुपैयाँ तलव सुविधा गैर कानुनी रुपमा लिई भ्रष्टाचार गरेको ठहर गरेको छ । उनको उमेर हद सम्बन्धी व्यवस्था अनुसार २०८० साउन १४ गतेसम्म मात्रै पदमा बस्न मिल्ने थियो । तर, बीमापोष्टले समाचार नै प्रकाशित गरी ‘पदावधी सकियो’ भनेर जानकारी दिँदा समेत घर नगई, जबरजस्ती गैर कानुनी रुपमा काम गर्दै आएका थिए ।
नेपाल सरकार अर्थ मन्त्रालयले समेत गरेको छानविनको क्रममा सुर्य सिलवालको पदावधी गैर कानुनी नै भएको भन्दै प्रतिवेदन तयार पारिएको थियो । त्यति हुँदा समेत अध्यक्ष सिलवाल घर गएका थिएनन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गर्दै अध्यक्ष सिलवालले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ र दफा १६ बमोजिमको भ्रष्टाचार गरेकोले सम्पत्ति रोक्का तथा जफतसहित असुल उपर गर्न माग दावी गर्दै विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै सिलवाल स्वतः निलम्वनमा परेका छन् । सिलवाल यही माघ १९ गतेपछि अनिवार्य अवकासपछि मात्रै घर जाने भन्नेमा थिए । तर, उनको योजनामा आयोगले रोक लगाउँदै मुद्दा दर्ता गरेको हो ।
आयोगले दावी गरे अनुसार सिलवालको बैंक खाता लगायतका अन्य अचल सम्पत्ति समेत रोक्का हुनेछ ।
बीमा प्राधिकरणमा अध्यक्ष भएर आएदेखि नै अध्यक्ष सिलवालले घुस सेटिङमा थुप्रै निर्णयहरु गरेका थिए । सो निर्णयहरुमाथि अझै मुद्दा दर्ता हुन बाँकी छ ।