बीमा कम्पनीद्वारा लाइसेन्स शुल्क वृद्धि गर्ने प्रस्ताव, ५० लाख देखि १० करोडसम्म दस्तुरको तयारी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नयाँ आउने बीमा कम्पनीहरुको लाइसेन्स शूल्क बढाउने तयारी गरेको छ।
हाल बीमा प्राधिकरणले नयाँ कम्पनीको लाइसेन्स शुल्कको लागि दर्ता गर्न ५० हजार रुपैयाँ मात्र लिने व्यवस्था गर्दै आईरहेको छ। हालसम्म नेपालमा दर्ता भएका बीमा कम्पनीहरुले उक्त रकम तिरेर नै लाइसेन्स पाएका हुन् । तर अब भने उक्त रकम बढाउने तयारी बीमा प्राधिकरणको रहेको छ।
बीमा प्राधिकरणले लाइसेन्स शुल्क बढाएर ५० लाख रुपैयाँदेखि १०करोड सम्म राख्ने प्रस्ताव अघि बढाउने तयारी गरेको छ।
प्राधिकरणले यसअघि यस्तो प्रस्ताव बोर्डमा नलगेको भने हैन । तर बोर्डका पदाधिकारीहरुले हाल लाईसेन्स दिनु नपर्ने भएको कारण यो प्रस्ताव अघि लानु उचित नभएको भन्दै उक्त एजेण्डा अघि नबढाएको बुझिएको छ।
हाल भने प्राधिकरणको उच्च पदाधिकारीहरुबीच भने यस बिषयमा छलफल भएको छ । हालको बोर्डमा भने यो बिषयमा जानकारी नगराएको बोर्डका एक अधिकारीले बीमापोष्टलाई जानकारी दिएका छन् ।
यस अघि प्राधिकरणले पूर्वस्वीकृती लिँदा एक लाख रुपैयाँदेखि १० लाख रुपियाँसम्म छुट्टै शुल्क तिर्नुपर्ने प्रस्ताव बोर्डमा पेश गरेको थियो । अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको बीमा नियमावली, २०८१ मा समेत प्राधिकरणले यो व्यवस्था राखेको थियो ।
हालको बीमा नियमावली, २०४९ मा कुनै पनि प्रकारका बीमा कम्पनीले लाइसेन्सका लागि आवेदन दिँदा ५० हजार रुपैयाँ दस्तुर बुझाए हुने व्यवस्था रहेको छ ।
त्यसपछि पूर्वस्वीकृत र लाइसेन्स (अन्तिम) स्वीकृतिका लागि थप दस्तुर तिर्नु पर्दैन । यद्यपि, नवीकरण गर्दा बार्षिक रुपमा ५० हजार रुपैयाँ तिनुपर्ने व्यवस्था रहेको छ।
तर, प्रस्तावित नियमावलीमा कम्पनीको प्रकार अनुसार फरक फरक शुल्क निधारण गरिएको छ।
कम्पनीहरुले लाइसेन्सका लागि आवेदन पेश छुट्टै दस्तुर तिर्न नपर्ने प्रस्ताव गरिएको छ । प्रस्तावित नियमावलीअनुसार पूर्वस्वीकृति बापत लघुबीमा कम्पनीले एक लाख, निर्जीवन बीमा कम्पनीले दुई लाख ५० हजार, जीवन बीमा कम्पनीले पाँच लाख र पुनर्बीमा कम्पनीले १० लाख शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ।
त्यसपछि अन्तिम स्वीकृती पाउँदा लघुबीमा कम्पनीले ५० लाख रुपियाँ, निर्जीवन बीमा कम्पनीले दुई करोड ५० लाख रुपियाँ, जीवन बीमा कम्पनीले पाँच करोड रुपियाँ र पुनर्बीमा कम्पनीले १० करोड रुपियाँ शुल्क बुझाउनुपर्ने भएको छ । साथै, इजाजत पत्र नविकरण गर्नुपर्ने व्यवस्था पनि हटाउने प्रस्ताव गरिएको छ ।
बीमा ऐन २०४९ अन्र्गत लाईसेन्सको दस्तु्र ५० हजार रुपैयाँ मात्रै रहेको छ । पुराने ऐनको रकमलाई बढाउने तयारी गरेको बीमा प्राधिकरणका एक अधिकारीले बताएका छन् ।