नाजुक कम्पनीको पुँजी बजारमा रजगज, माफिया खेल्दा आँखा चिम्लिएर लगानी गर्दै लगानीकर्ता

दिपक विष्ट
२१ मंसिर २०८१, शुक्रबार १२:३०

काठमाडौँ । नेपालको पुँजी बजारमा पछिल्ला दिनमा डुब्नै लागेको अवस्था भएका कम्पनीहरूको शेयर मूल्यमा निरन्तर उछाल देखिनु नौटङ्कीको खेलजस्तै भएको छ । कमजोर वित्तीय अवस्था भएका कम्पनीहरूले दिनानुदिन सकारात्मक सर्किटमार्फत मूल्य उचालिरहेका छन्, जसले बजारमा नयाँ लगानीकर्ताको आकर्षण तानिरहेको छ ।

प्रायः कम पुँजी भएका कम्पनीहरुको वित्तीय अवस्था जतिसुकै नाजूक भए पनि मूल्य दिनानुदिन सकारात्मक सर्किटमा कारोबार हुने गरेको छ । सीमित व्यक्ति वा समूहले उचालेका यस्ता शेयरमा आम लगानीकर्ताले पनि पर्याप्त ज्ञानबिनै बढ्दो बजारमा जति पनि मूल्य तिरिरहेको देखिन्छ । केहि समूह अर्थात् माफियाले उचालिरहेको शेयरमा नवप्रवेश लगानीकर्ताले लहलहैंमा बालुवा पानी खनाए झै लगानी खनाइ रहेका हुन् ।

तर, जुन दिन ठुला लगानीकर्ता सोझा तथा प्रायप्त ज्ञान नभएको लगानीकर्ता शेयर भिडाएर हिड्छन् त्यो दिन ति लगानीकर्ता भन्छन् शेयर बजारलाई जुवा घर । माफियाको लहलहैमा लागेर रातारात धनी बन्ने सोच राखेका केहि लगानीकर्ताले फसेपछि शेयर बजारलाई जुवाघर भन्दै प्रचार प्रसारण गरेको पाइन्छ ।

चलखेलको भुमरीमा परेका लगानीकर्ताले लोभमा किनेका शेयर बोकेर वर्षौ बस्नुपर्ने बाध्यता आउने गरेको छ । वित्तीय अवस्था नाजुक कम्पनीको शेयर बोकेर हिड्दा जुनसुकै बेला पनि डुब्न सक्ने अवस्था सिर्जना हुने गरेको छ ।

वित्तीय सूचकमा अब्बल कम्पनीहरुको शेयर मूल्य निरन्तर घट्दा नाजुक कम्पनीको शेयर मूल्य बढेको छ । राम्रा र फन्डामेन्टल कम्पनीतिर रुचि तथा ध्यान देखिदैन । जसको कारण हो छिटो नाफा कमाउने प्रवृति । यसो हुनुमा बजारका बजारका बारेमा पर्याप्त ज्ञान नहुनु अनि छिटो नाफा खोज्ने प्रवृत्ति मुख्य कारण मानिएको छ ।

११ कम्पनीको बजारमा रमिता

नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय अवस्था समस्याग्रस्त भएको घोषणा गर्यो । तर, राष्ट्र बैंकलाई नै चुनौति दिँदै कर्णाली डेभलपमेन्टले शेयर बजार सर्किट हान्यो । आँखा चिम्लिएर लगानीकर्ताले पनि धमाधम लगानी गरे । वित्तीय अवस्था नै नाजुक रहेको कम्पनीको शेयरमा आएको उछाललाई लिएर एक्सनमा जानु पर्ने नेपाल धितोपत्र बोर्ड हातमा दहि जमाएर बस्यो ।

यता, नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा अनुपात ३४.८१ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको १४.७७ प्रतिशत, सिन्धु विकास बैंकको ११.२९ प्रतिशत र एक्सेल डेभलपमेन्ट बैंकको ११.७३ प्रतिशत पुगेको छ । नेपालका फाइनान्स कम्पनीहरू पनि संकटग्रस्त छन् । हालका ७ फाइनान्स कम्पनीहरूको खराब कर्जा अनुपात ५ प्रतिशतभन्दा बढी पुगेको छ । जानकी फाइनान्सको खराब कर्जा अनुपात ३४.६४ प्रतिशत, समृद्धि फाइनान्सको २३.४७ प्रतिशत, गुहेश्वरी फाइनान्सको १३.५६ प्रतिशत, नेपाल फाइनान्सको १०.३६ प्रतिशत, सेन्ट्रल फाइनान्सको ८.७१ प्रतिशत, रिलायन्स फाइनान्सको ८.५८ प्रतिशत र प्रोगेसिभ फाइनान्सको ७.४७ प्रतिशत पुगेको छ । यी फाइनान्स कम्पनीहरूको नाजुक अवस्थाले पनि वित्तीय प्रणालीलाई थप दबाबमा राखेको छ ।

खराब कर्जा अनुपात ५ प्रतिशतभन्दा बढी देखिएमा राष्ट्र बैंकले कारबाही स्वरुप निक्षेप तथा कर्जा प्रवाहमा न्यूनतम सीमा तोकिदिने, शाखा खोल्न, कर्मचारीहरुको पारिश्रमिक बढाउन र लाभांश वितरणमा रोक लगाउने ब्यवस्था छ । तर, केन्द्रिय बैंकको नीति माथि निरन्तर धज्जी उडि रहेदा नियामक मौन रहेको छ । जस कारण यी कम्पनीहरुलाई माफियाले शेयर मूल्य उचालि रहेको पाइएको छ ।

सामान्यतयः राम्रो र लाभांश दिने कम्पनीको बजार मूल्य धेरै र खराब कम्पनीको कम हुनुपर्ने हो । तर, विकास बैंक समूहका केही कम्पनी जसलाई ग्राहम नम्बरको आधारमा मूल्यंकन गर्ने हो भने १०० रुपैयाँ पनि नपर्ने त्यस्ता कम्पनीलाई लगानीकर्ताले ८०० देखि ९०० रुपैयाँभन्दा धेरै तिरिरहेका छन् ।

किन आउँछ दर्दनाक कम्पनीको शेयरमा उछाल

पुँजी बजारमा रातारात धनी बन्ने प्रवृति मौलाउँदै गएको छ । छिटो नाफा खोज्ने समूह बढी रहेकाले आँखा चिम्लिएर जस्तो कम्पनीमा पनि लगानी गर्न तयार हुने गरेका छन् । जसको फलस्वरुप त्यस्तो कम्पनीमा ठुला र माफियाले कमाउने गरेका छन् । जसमा ज्ञान नभएका लगाानीकर्ता डुब्ने गरेको पाइन्छ ।

केही समूह वा लगानीकर्ताले नाजुक वित्तीय अवस्था भएका कम्पनीहरूको शेयरमा कृत्रिम माग सिर्जना गरेर मूल्य बढाउने प्रयास गर्छन् । यो रणनीतिले नयाँ र अनुभवहीन लगानीकर्तालाई आकर्षित गरी बजारमा गलत संकेत पु¥याउँछ, जसले मूल्यलाई अस्वाभाविक रूपमा माथि धकेल्ने गरेको छ ।

शेयर बजारका अग्रज लगानीकर्ता छोटेलाल रौनियारका अनुसार लो क्याप कम्पनीहरुलाई केहि ठुला लगानीकर्ताले उचाउँदा बजारमा सुधार देखिएको बताउँछन् । उनले भने, ‘लो क्याप भएका कम्पनीको शेयर केहि सीमित समूहले खरिद गर्ने गरेका छन् । थोरै शेयर भएको कम्पनीमा चलखेल गरेर शेयर मूल्यमा सुधार गरेको पाइन्छ । जसले केहि समूहले उल्लेख्य नाफा कमाउने तर पर्याप्त ज्ञान नभएका लगानीकर्ता डुब्ने अवस्था सिर्जना हुने गरेको छ ।’

वित्तीय अवस्था कमजोर भएका कम्पनीको शेयर मूल्य बढ्नमा नियामक निकाय दोष रहेको रौनियारको दाबी छ । ‘वित्तीय अवस्था अब्बल रहेका कम्पनीहरुले अहिलेको बजारमा फेल खाइरहेको छ । लो क्याप तर खराब कर्जासहित वित्तीय अवस्थामा डुब्नै लागेका कम्पनीको मूल्य बढेको छ’ उनले भने, ‘जसको प्रमुख कारण हो बोर्ड । लगानीकर्ताले बेला बेला बजारमा भइरहेको चलखेलबारे घचघचाउँदै आएका छन् । तर, लगानीकर्ता डुबाउने गरी भएको चलखेलमा सेबोनको कुनै एक्सन देखिदैन । जसले पर्याप्त ज्ञान नभएका लगानीकर्ता डुब्ने गरेको छ ।’

वित्तीय शिक्षाको कमिका कारण लहलहैमा लाग्ने लगानीकर्ता बढ्दै गएको उनले बताए । बजारमा हचुवाका भरमा लगानी गर्ने, अध्ययन बिना नै कम्पनीको शेयर खरिद गर्ने र लहलहैमा लागेको शेयर किनेर डुब्ने लगानीकर्ताले नै बजारलाई जुवाघर भनि रहेको रौनियारको भनाइ रहेको छ ।

बजारमा देखिएका यस्ता गलत प्रवृति तिर सेबोनको ध्यान गएको देखिदैन । लगानीकर्ताको हितभन्दा माफियाको पैसा तिर आँखा तन्काइरहेको सेबोनको गैरजिम्मेवारीले बजारलाई जुवाघर तिर धकलि रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*