नेपाल–चीन अटोमोबाइल व्यापार प्रवर्द्धनका लागि ‘नाडा र चिनियाँ परिषद्’ बीच ऐतिहासिक सम्झौता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गएको व्यापारिक प्रतिनिधिमण्डलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधित्व गर्दै अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार उप्रेती सहभागी भएका थिए। भ्रमणका क्रममा नाडा र चीन काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड अटोमोबाइल सब-काउन्सिल बीच अटोमोबाइल व्यापार र सहकार्यलाई प्रोत्साहित गर्न ऐतिहासिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
यस सम्झौताले नेपाल र चीनबीचको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउँदै अटोमोबाइल उद्योगको दिगो विकास र व्यापार प्रवर्द्धन गर्ने सम्भावनालाई अघि बढाउने लक्ष्य राखेको छ। व्यापार मेला आयोजना, व्यावसायिक प्रतिनिधिमण्डल आदानप्रदान, र नीति समन्वयका माध्यमबाट दुवै देशका उद्योगहरूका लागि नयाँ अवसरहरू सिर्जना गरिनेछ।
सम्झौताअनुसार नाडाले नेपाली अटोमोबाइल क्षेत्रमा लगानीका सम्भावना पहिचान गर्ने र चिनियाँ व्यवसायीहरूलाई आवश्यक सहयोग गर्नेछ। अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चिनियाँ परिषद् – अटोमोबाइल उप-परिषद् ले नेपालमा चिनियाँ लगानी प्रवर्द्धन, प्रविधि आदानप्रदान, र संयुक्त कार्यक्रमहरूको सञ्चालनमा सहयोग गर्नेछ।
साझेदारीको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न एक संयुक्त कार्य समूह गठन गरिनेछ, जसले नियमित समीक्षा गर्दै सुधारका उपायहरू अवलम्बन गर्नेछ। दुवै पक्षले बौद्धिक सम्पत्ति अधिकारको सम्मान गर्ने र सहकार्यका क्रममा गोपनीयता कायम राख्ने प्रतिबद्धता जनाएका छन्।
यो सम्झौताले दुवै देशका अटोमोबाइल उद्योगलाई दिगो र समृद्ध बनाउँदै आर्थिक सहकार्यको नयाँ अध्याय सुरु गर्ने दिशामा ठोस कदम स्थापित गरेको छ।