लक्ष्मण बजगाईद्वारा लिखित ‘टोल विकास संस्थाहरुको सक्रियता’ पुस्तक विमोचन
काठमाडौँ । ‘टोल विकास संस्थाहरुको सक्रियता’ नामक पुस्तक विमोचन गरिएको छ । बागमती प्रदेशको राजधानी हेटौडामा एक कार्यक्रमको आयोजना गरी उक्त पुस्तक विमोचन गरिएको हो । पुस्तक बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले विमोचन गरेकी हुन् ।
लक्ष्मण बजगाईद्वारा लेखिएको र नारायणप्रसाद बजगाईले प्रकाशन गरेको उक्त पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले आफू जनतासँगै मिलेर काम गर्न चाहने र अहिलेसम्म यस्तै किसिमको अभ्यास गर्दै आएको बताइन् ।
समारोह आयोजक बजगाई बन्धु मिलन समाजले हेटौंडामा आयोजना गरेको उक्त पुस्तक विमोचन समारोहका अतिथि टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले विमोचित ‘टोल विकास संस्थाहरुको सक्रियता’ पुस्तकले टोलका सन्तुलित विकासमा महत्वपूर्ण टेवा पुग्न सक्ने विश्वास ब्यक्त गरेका छन् ।
त्यसैगरी कार्यक्रममा अतिथिका रुपमा सहभागी बरिष्ठ समाजसेवी एवं नेपाल ब्राम्हण समाजका केन्द्रीय सदस्य सीताराम बर्तौलाले टोलको विकासमा टोलबासीहरुको एकताले महत्वपूर्ण भूमिका खेल्ने भएकोले विमोचित उक्त पुस्तक टोलबासीहरुले अध्ययन गर्नै पर्ने पुस्तक भएको जिकिर गरे ।
बजगाई बन्धु मिलन समाजका अध्यक्ष एवं पुस्तकका प्रकाशक नारायणप्रसाद बजगाईको सभापतित्वमा आयोजित पुस्तक विमोचन समारोहका अर्का अतिथि मातृभूमि साहित्य समाजका संस्थापक अध्यक्ष एवं वरिष्ठ साहित्यकार ह्याग्रीव आचार्यले विमोचित ‘टोल विकास संस्थाहरुको सक्रियता’ पुस्तकको बारेमा समीक्षा गरेका थिए ।