ब्याजदर सस्तिएसँगै कर्जा लिएर घर बनाउने बढे, कुन बैंकले कति दिए व्यक्तिगत आवासीय कर्जा ?

१८ मंसिर २०८१, मंगलवार १६:१५

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत आवासीय घर कर्जाको प्रवाह पछिल्लो समय तीव्र रूपमा वृद्धि भएको छ । बैंकहरूले हाल व्यक्तिगत घर निर्माणका लागि २ करोडसम्म कर्जा दिने प्रावधान राखेकोले धेरै नागरिक घर बनाउन बैंक कर्जातर्फ आकर्षित भएका छन् । कर्जाको मागले घरजग्गा क्षेत्र फेरि सक्रिय हुँदै गएको छ ।

ब्याजदर घट्दै गएको र बैंकिङ प्रणालीमा तरलता बढेको अवस्था घर कर्जाको वृद्धिको प्रमुख कारण बनेको छ । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूको लागतमा कमी आएको छ, जसले गर्दा कर्जाको ब्याजदर पनि सस्तो भएको छ । सहज रूपमा कर्जा प्रवाह हुन थालेपछि नागरिक घरजग्गा निर्माण वा खरिदका लागि थप उत्साहित भएका छन् ।

गत वर्ष आर्थिक मन्दी, चर्को ब्याजदर र तरलता अभावले कर्जाको प्रवाहमा कमी आएको थियो । तर, अहिले अवस्था परिवर्तन भएको छ । बैंकहरूले घर कर्जाका लागि आकर्षक योजनाहरू ल्याएका छन् । एकल अङ्कको ब्याजदर र निश्चित फिक्स्ड ब्याजदरमा घर कर्जा प्रदान गर्न थालेपछि घर निर्माणमा लगानी बढेको छ ।

नागरिकहरूको कर्जाको बढ्दो रुचिलाई ध्यानमा राख्दै बैंकहरूबीच प्रतिस्पर्धा पनि तीव्र बनेको छ । कर्जा प्रवाहका लागि बैंकहरूले छुट र सहुलियतपूर्ण ब्याजदरमा योजनाहरू सार्वजनिक गरेका छन् । यसले घर निर्माण र खरिद गर्ने नागरिकका लागि अवसर बढाएको छ भने बैंकहरूको कर्जा विस्तारमा समेत सकारात्मक योगदान दिएको छ ।

कुन बैंकले कति दिए ?

हालसम्म व्यक्तिगत घर बनाउनका लागि सर्वाधिक कर्जा दिनेमा एनआइसी एशिया बैंक रहेको छ । बैंकले ५६ अर्ब ३ करोड २५ लाख कर्जा प्रदान गरेको छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंकले ३५ अर्ब ७७ करोड ८२ लाख, नबिल बैंकले २६ अर्ब ४९ करोड ८७ लाख, राष्ट्रिय वाणिज्य बैंकले २५ अर्ब ९४ करोड ५७ लाख, एभरेष्ट बैंकले २२ अर्ब ८४ करोड ६३ लाख र लक्ष्मी सनराइज बैंकले१८ अर्ब ५२ करोड १६ लाख रुपैयाँ व्यक्तिगत घर कर्जा दिएको हो ।

व्यक्तिगत घर बनाउनका लागि एनएमबि बैंकले १५ अर्ब ९७ करोड १० लाख, प्रभु बैंकले १३ अर्ब ३७ करोड ५७ लाख, कुमारी बैंकले १३ अर्ब ७६ लाख, सिद्धार्थ बैंकले १२ अर्ब ५५ करोड ३६ लाख, कृषि विकास बैंकले ११ अर्ब ३९ करोड, सिटिजन बैंकले १० अर्ब २९ करोड, नेपाल बैंकले १० अर्ब ६ करोड, सानिमा बैंकले ८ अर्ब ९० करोड, स्टान्डर्ड चार्टड बैंकले ८ अर्ब ६५ करोड, प्राइम बैंकले ८ अर्ब १८ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७ अर्ब ७१ करोड, माछापुच्छे बैंकले ६ अर्ब ४० करोड, हिमालयन बैंकले ५ अर्ब ८ करोड र नेपाल एसबिआई बैंकले २ अर्ब ३४ करोड कर्जा दिएको हो ।

साढे ५ प्रतिशतसम्म आइपुग्यो बैंकहरुको बेस रेट, सस्तो ब्याजमा ऋण लिन कुन बैंक रोज्ने ?

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*