सांग्रिला मोटर्सलाई धक्काः लिफमोटर सि १० मा देखिएको गम्भिर समस्याले उपभोक्ता त्रसित
काठमाडौँ । विद्युतीय सवारी साधनको विश्वव्यापी बजार तीव्र रुपमा बढिरहेको छ । विश्व बजार नै ईभीले तातिरहेको बेला देखिएका केहि सवारी साधानमा देखिएको गम्भिर समस्याले ग्राहकलाई त्रसित समेत बनाउने गरेको हो । चीनको चौथो ठूलो विद्युतीय सवारी साधन निर्माता लिफमोटरले उत्पादन गरेको सी १० मोडेलमा देखिएको सफ्टवेयर समस्याले उपभोक्ताहरुमा फेरी एक पटक झस्काएको छ ।
नेपालमा आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले भर्खरै मात्र यो गाडी नेपाली बजारमा भित्र्याएको थियो । भित्र्याएको केहि समयपछि नै देखिएको समस्याले ग्राहकलाई सोच्न बाध्य बनाएको छ । सवारी साधनका लागि सफ्टवेयर कुनै पनि हार्डवेयरजत्तिकै महत्वपूर्ण मानिन्छ । विद्युतीय सवारीमा ब्रेक प्रणालीदेखि गाडीको गति, ढोकाको नियन्त्रण, मोटरको संचालन, र ब्याट्री व्यवस्थापनसम्म सबै सफ्टवेयरको भरमा चल्छ । तर, लिफमोटरको सी १० मा देखिएको सफ्टवेयर समस्या यति गम्भीर छ कि गाडी चलिरहेको अवस्थामा अचानक रोकिने, ढोका नखुल्ने र अन्य सामान्य कार्यहरुमा अवरोध सिर्जना भइरहेको छ ।
नेपालमा लिफमोटरका कयौं गाडि नेपालमा आयात भइसकेका छन् । केहि गाडिहरु भने उपभोक्तालाई डेलिभर गर्नुअघि नै समस्या समाधान गर्नुपर्ने बाध्यता कम्पनीमाथि परेको छ । नाडा अटो शो जस्तो प्रतिष्ठित मेलामा देखाइएको सी १० ले नेपाली उपभोक्ताहरुबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । ११२ वटा बुकिङ गरिएको भए पनि गाडीमा देखिएको समस्याका कारण डेलिभर प्रक्रिया अनिश्चित अवस्थामा छ ।
सफ्टवेयर समस्याले नेपाली उपभोक्ताहरुको मनोविज्ञानमा गहिरो असर पारेको छ । नेपाली बजारमा भर्खरै भित्रिएको यस ब्रान्डले सुरुवातमै उपभोक्ताको विश्वास गुमाउने सम्भावना देखिएको छ । ग्राहकहरुले चर्को मूल्य तिरेर लिने गाडीमा यस्तो गम्भीर समस्या आउनुले कम्पनीको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
नेपालमा सी १०८ गाडीको मूल्य ७१ लाख ९९ हजार राखिएको छ । तर, यो गाडी चीनमा १६० किलोवाट मोटर पावरमा उपलब्ध भए पनि नेपालमा ९९ किलोवाट क्षमताको गाडी आयात गरिएको छ । यसले गाडीको क्षमता र प्रदर्शनमाथि पनि प्रश्न खडा गरेको छ ।
सफ्टवेयर विद्युतीय सवारी साधनको मेरुदण्ड मानिन्छ । यसको माध्यमबाट गाडीका सबै प्रमुख प्रणालीहरु संचालन हुन्छन्। सफ्टवेयरमा समस्या भएमा सवारी साधनको कार्यक्षमता गम्भीर रुपमा प्रभावित हुन्छ । लिफमोटरको सी १० मा देखिएको समस्या अन्य विद्युतीय सवारीमा पनि आउन सक्ने जोखिमको संकेत हो ।
उच्च मूल्य तिर्न तयार उपभोक्ताहरुले गुणस्तरीय सवारीको अपेक्षा गरेका हुन्छन् । तर, लिफमोटरले समस्याग्रस्त गाडी नेपाली बजारमा ल्याउँदा ग्राहकहरुको विश्वासमा गहिरो चोट लागेको छ ।