कोरियाका नेपालीले नेपालको शेयर बजारमा डुबाए अर्बौ रुपैयाँ, लगानी घटाउँदै कामदार

१८ मंसिर २०८१, मंगलवार ११:५४

काठमाडौं । कोरियामा ई–९ भिषा अन्तर्गत काम गर्न पुगेका हजारौं नेपालीहरुले अर्बौ रुपैयाँ नेपालको शेयर बजारमा डुबाएको तथ्य खुलेको छ । कोरोनाकालदेखि अनलाईनबाटै मेरो शेयर एप, टिएमएस र मोबाईल बैंकिङ प्रणाली चलाउन पाइने हुँदा कोरियामा रहेका नेपालीहरुले अर्बौ रुपैयाँ शेयर बजारमा लगानी गरेका हुन् । सो मध्ये थुप्रैले आफूहरु डुबेको गुनासो बीमापोष्ट समक्ष गरेका छन् ।

कोरियाको गोन्देमुनमा भेटिएका नवलपरासीका पुन मगर थरका एक नेपालीले लहै लहैमा लागेर शेयर बजारमा लगानी गर्दा आफ्नो करिब २० लाख रुपैयाँ डुबेको गुनासो गरे । उनले भने, ‘तीन वर्षअघि नेप्से ३००० पुगेको बेला २० लाख रुपैयाँ जतिको शेयर किनेको थिए । अहिले मूल्य घटेर १०।१२ लाख रुपैयाँ मात्रै आउने भएको छ न बेच्न सक्छु न मूल्य नै आउछ ।’

आफूले कोरियामा चार वर्ष बगाएको रगत पसिनाको रकम शेयर बजारमा कारोबार गर्न नजान्दा फसेको गुनासो गरे । ति पीडित युवाका अनुसार उनीजस्तै थुप्रै युवाहरुले दुई वर्षदेखि नेपालको शेयर बजारमा लगानी गर्दा थुप्रै रकम गुमाएको गुनासो गरे ।

कोरियामा रहेका नेपालीहरुको शनिबार र आइतबार दुई दिन छुट्टी हुने गर्दछ । शनिबार नेपाल घुमफिर, सरसफाईको काम गर्ने गर्दछन् भने आइतबार शेयर कारोबारमा ध्यान दिने गरेका छन् । आइतबार नेपालको शेयर कारोबार खुल्ने हुँदा दक्षिण कोरियाको सउल, गोन्देमुन, बुसान, गुनसान क्षेत्रको औद्योगिक क्षेत्रमा काम गर्ने नेपालीहरुले शेयर बजारमा चासो राख्ने गर्दछन् । एक पटक शेयर खरिद गरेपछि दोहोर्याएर हेर्न पुनः एक सातासम्म कुर्नुपर्दछ । अन्य दिनमा काममा हुँदा उनीहरुले मोबाइल चलाउन त के दिसा पिसाबको लागि समेत अनुमति लिनुपर्ने अवस्था छ । कसै कसैले खाजाको समयमा हेरेर मिलाउने गरेपनि आम कामदारहरुमा त्यस्तो क्षमता विकास भइसकेको छैन ।

उनीहरुलाई उक्त शेयर बिक्री गर्न समस्या पर्ने गरेको गुनासो समेत गरेका छन् । आइतबार किनेको शेयर बिक्री गर्नको लागि बिक्री भएको भोलिपल्ट इडिआईएस गर्नुपर्दछ । जुन कोरियामा काम गर्ने कामदारहरुको लागि कठिन छ । आइतबार बाहेक अरु दिनमा मोबाइल हेर्न नपाइने हुँदा शेयर बिक्री गरेपछि इडिआईएस गर्न नसक्दा जरिवानामा परेको एक नेपाली कामदारले बताए ।

कोरियामा काम गर्ने नेपाली कामदारले त्यहाँको सबैभन्दा कठिन र औद्योगिक क्षेत्रमा जोखिमयुक्त क्षेत्रमा काम गर्दै आएका छन् । दैनिक १० घण्टा मेशिनजसरी काम गरेर कमाएको तलब एक एक पैसा हिसाब गरेर मात्रै खर्च गर्ने गरेका छन् । खाडी मुलुकमा भन्दा निकै दुःख गरेर पैसा कमाएको र उक्त पैसा खर्च गर्दा प्रत्येक पटक आफ्नो मेहनतको याद आउने सप्तरीका अनिल यादवले बताए । त्यसरी दुःख गरेर कमाएको रकम शेयरमा डुब्दा निकै पीडा हुँदो रहेछ ।

कोरियामा रहेका नेपालीहरुमा शेयर बजारमा लगानी गर्दा मूल्य बृद्धि हुन्छ र नाफा हुन्छ भने र लगानी गर्ने गरेका छन् । तर, शेयर मूल्य घट्दा घाटा भएपछि पीडामा पर्ने गरेका छन् । पछिल्लो समय कोरियामा रहेका नेपालीहरुले शेयर बजारमा लगानी घटाएको समेत देखिएको छ । उदयपुरका एक युवाले भने, ‘शेयर बजारमा त दैनिक रुपमा, छिन छिनमा हेर्दै कारोबार गर्नुपर्ने रहेछ, फुर्सद हुँदा मात्रै गर्ने लगानी रहेछ । हामी कोरियामा काम गर्नेहरु साताको एक मात्रै हेरेर नहुनेछ रहेछ ।’

आजसम्म कोरियामा रहेका नेपालीहरुले नेपालको पुँजि बजारमा कति लगानी गरेका छन् । अहिले पछिल्लो पटक सक्रियताको अवस्था कस्तो भन्ने यकिन तथ्याङ्क कसैसँग छैन । यद्यपि कोरोना महामारी पछि अनलाईनमा व्यवस्था गरिएसँगै कोरिया, दुबई, मलेसिया र कतारबाट समेत लगानीकर्ताहरुको ठूलो लगानी भएको विश्वास गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*