विद्युत् प्रसारण लाइनमुनि रहेका संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन

१७ मंसिर २०८१, सोमबार १३:३०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्युत् प्रसारण लाइनमुनि रहेका घर, टहरा, पर्खाललगायत संरचना हटाउन ३५ दिने अल्टिमेटम जारी गरेको छ। महानगरको सहरी व्यवस्थापन विभागले सार्वजनिक सूचना जारी गर्दै विद्युत् ऐन २०४९ र विद्युत् नियमावली २०५० अनुसार प्रसारण लाइनको मुनि तथा नजिक रहेका संरचना मापदण्डविपरीत निर्माण भएकाले ती तत्काल हटाउन आग्रह गरेको छ।

महानगरले विद्युत् प्रसारण लाइन मुनि बनाइएका घर, विद्यालय भवन, ग्यारेज, टहरा, र पर्खाल जस्ता संरचनाले जोखिम निम्त्याउने भएकाले सम्बन्धित पक्षले आफैं हटाउन निर्देशन दिएको हो। ३५ दिनभित्र यस्ता संरचना नहटाए कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने महानगरको सूचनामा उल्लेख छ।

महानगरपालिकाले २३० केभीदेखि ११ हजार केभीसम्मका प्रसारण लाइनबाट कम्तीमा १२।५ मिटर टाढा तथा उच्च क्षमताका प्रसारण लाइनका लागि १५ मिटरको दूरी कायम गर्नुपर्ने प्रावधानअनुसार संरचना निर्माण गर्न आग्रह गरेको छ। महानगरले यस कदमले सुरक्षा जोखिम न्यूनीकरण गर्दै व्यवस्थित सहरी विकासमा सहयोग पुग्ने विश्वास लिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*