सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधि गरी ७९ जना बोकेर प्रधानमन्त्री ओली बेइजिङ प्रस्थान
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार चीनतर्फ प्रस्थान गरेका छन्। चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल भ्रमणमा सहभागी भएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, विभिन्न मन्त्री, मुख्यसचिव तथा उच्च पदस्थ अधिकारीहरूले प्रधानमन्त्री ओलीलाई बिदाइ गरे। भ्रमण टोलीमा सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधि गरी ७९ जना सहभागी छन्।
चीन भ्रमणको क्रममा मङ्सिर १८ गते प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्री ली छ्याङले स्वागत गर्नेछन्। त्यसै दिन दुई देशबीचका सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले द्विपक्षीय वार्ता र विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीले त्यही दिन चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गर्ने कार्यतालिका छ।
मङ्सिर १९ गते प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा विशेष सम्बोधन गर्नेछन्। त्यस्तै, बेइजिङस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने योजना पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
चिनियाँ सङ्ग्रहालयको भ्रमणपछि प्रधानमन्त्री ओली मङ्सिर २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।