हेटौंडा सिमेन्ट उद्योग पुसको पहिलो साताबाट पुनः उत्पादनमा फर्कने तयारीमा

१७ मंसिर २०८१, सोमबार १०:४५

काठमाडौँ । हेटौंडा सिमेन्ट उद्योगले आगामी पुस महिनाको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ। मङ्सिरमै उत्पादन सुरु गर्ने योजना भए पनि उद्योगको बिभिन्न उपकरण मर्मतकार्य नसकिएकाले प्रक्रिया केही ढिलो भएको छ।

उद्योगका अनुसार क्लिनिकलर मेसिनलगायत उपकरणहरूको मर्मत अझै जारी छ। तिहारअघि नै मर्मत सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि भारतीय श्रमिक ल्याएर उपकरण निर्माण गर्नुपर्ने भएकाले समय लागेको छ।

उद्योगले उत्पादनका लागि आवश्यक कच्चा पदार्थको कुनै अभाव नरहेको बताउँदै करिब ४०० मेट्रिक टन कोइला मौज्दात रहेको जानकारी दिएको छ। थप कोइला खरिद प्रक्रिया अघि बढिसकेकोले कोइलाको समस्या नहुने उद्योगले जनाएको छ।

यसअघि आर्थिक अभावका कारण उद्योग असोज १५ देखि बन्द भएको थियो। भदौ महिनामा पुनः उत्पादन सुरु गरेपछि उद्योगले ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो। लामसुरेमा २०३३ सालमा स्थापना भएको यो उद्योगले २०४३ सालदेखि व्यावसायिक रूपमा उत्पादन सुरु गरेको हो।

उद्योग व्यवस्थापनले उपकरण मर्मत कार्य छिटै सम्पन्न भई पुस पहिलो साताबाट उत्पादन पुनः सञ्चालन गर्ने दाबी गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*