जीवन बीमा कम्पनीहरूले कुन प्रदेशबाट कति भित्र्याए व्यवसाय?
काठमाडौं । हाल नेपालमा सञ्चालित जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले कात्तिक महिनासम्म सातै वटा प्रदेशमा गरी जम्मा ५३ अर्ब ६९ करोड ९० लाख रुपैयाँ आर्जन गरेका छन्।
कम्पनीहरूले सावधिक, अग्रिम भुक्तानी सावधिक, रुपान्तरित सावधिक, बालबच्चा सम्बन्धी सावधिक, वैदेशिक रोजगार म्यादी, आजीवन, एकल बीमाशुल्क, म्यादी, लघु र अन्य जीवन बीमा शिर्षकमा सो रकम आर्जन गरेका हुन्।
जीवन बीमा कम्पनीहरूले बाग्मती प्रदेशमा सर्वाधिक २२ अर्ब ९९ करोड रुपैयाँको व्यवसाय गरेका छन्। देशकै राजधानी अवस्थित र पूर्वाधारको हिसाबले पनि विकसित प्रदेश भएकाले कम्पनीहरूले सर्वाधिक व्यापार गर्न सफल भएका हुन्।
त्यस्तै दोस्रोमा लुम्बिनी प्रदेशबाट कम्पनीहरूले बढी मात्रामा व्यवसाय भित्र्याएका छन्। यस प्रदेशबाट ८ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको व्यवसाय कम्पनीहरूले गरेका हुन्।
त्यस्तै कम्पनीहरूले कोषि प्रदेशबाट ६ अर्ब ७० करोड रुपैयाँको व्यापार गरेका छन्। यता गण्डकी प्रदेशबाट ५ अर्ब ६५ करोड रुपैयाँको व्यापार गरेका कम्पनीहरूले मधेश प्रदेशबाट ४ अर्ब ९० करोड रुपैयाँको व्यापार गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीहरूले सुदूरपश्चिम प्रदेशबाट ३ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेका छन्।
कर्णाली प्रदेशबाट सबैभन्दा कम १ अर्ब ६३ करोड रुपैयाँबढीको व्यापार गरेका छन्। भौगोलिक स्थितिले विकट तथा विकासको पूर्वाधारको दृष्टिले पनि पछाडी रहेको यस प्रदेशबाट अभिकर्ता र कम्पनीहरूको अथक प्रयासले गर्दा सो व्यापार गर्न सफल भएका हुन्।