आईएमई ग्रुपसँग मिल्दा ताप्लेजुङमा एमाले संकटमा, योगेश भट्टराई बहिस्कार अभियान तीव्र

१७ मंसिर २०८१, सोमबार ०७:०६

काठमाडौं । ताप्लेजुङ जिल्लाको पाथिभरामा देशकै ठूलो व्यापारिक घराना आइएमई ग्रुपले बनाउने लागेको केवलकारका कारण सत्ताधारी नेकपा एमालेको राजनीति धरापमा परेको छ । ताप्लेजुङ जिल्लामा विकास र समृद्धिमा ध्यान दिनुको सट्टा आइएमई ग्रुपको लगानी रहेको पाथिभरादेवी दर्शन केवलकार बनाउनका स्थानीय जनताका विरुद्धमा लागेपछि एमालेले अप्ठेरो अवस्थाको सामना गर्नु परेको हो । निजि कम्पनीको फाइदाको लागि गुण्डाहरुको समुह पालेर जनतामाथि खुकुराले काट्दै हिडेपछि जिल्लास्थित नेकपा एमालेको राजनीतिक ध्वस्त हुने अवस्थामा पुगेको देखिएको छ ।

ताप्लेजुङ जिल्लामा एमाले समर्थित एउटा समुह, पाथिभरा विकास समितिबाट लाभ पाएका समुह तथा पाथिभरादेवी दर्शन केवलकारले पालेका केही व्यक्ति बाहेकका स्थानीय जनता पाथिभरामा बनाउन लागेको केवलकारको विरोधमा छन् । स्थानीयबासीले पाथिभराको मन्दिरमा केवल बनाउन नहुने भन्दै चर्को आन्दोलन गरिरहेका छन् । सो आन्दोलनको नेतृत्वमा अहिले पहिचानवादीहरु सबैभन्दा अगाडि रहेका छन् । बाहिरबाट हेर्दा पाथिभरामा केवलकार बनाउन नदिन पहिचानवादी मात्रै देखिएपनि ताप्लेजुङकै गैर जनजातिहरु समेत केवलकारको विरोधमा रहेको देखिएको छ । तर, एमालेले केवलकारलाई पार्टीको मुख्य एजेण्डाको रुपमा अघि सारेका कारण अहिले संघीय सांसद योगेश भट्टराई मुख्य तारो बन्न पुगेका छन् ।

ताप्लेजुङको सदरमुकाम फुङलिङमा भेटिएका एक गैर जनजातिले भने, ‘पाथिभरा भनेको पहिचान, सभ्यता र संस्कृति हो । पाथिभराको संस्कृति बिगार्ने गरी केवलकार आवश्यक छैन ।’ पाथिभरासम्म जान अहिलेको सबैभन्दा आवश्यक कुरा भनेको सुकेटारदेखि काफ्लेपाटीसम्मको बाटो पिच गर्नु हो । त्यति भयो भने बाँकी सबै सिँडी बनाइसकिएको छ ।’
स्थानीयबासीले पाथिभरा माताले कसलाई मन्दिरमा आउन दिने र कसलाई मन्दिरमा आउन नदिने भनेर आफैले निर्धारण गर्ने भएकोले पनि उक्त क्षेत्रमा केवलकार वा सडक बनाएर भन्दा पनि अहिलेको सिँडीलाई व्यवस्थित गर्नुपर्ने बताउँछनत् । साथै पाथिभराको मन्दिरमा धेरै राजनीति नगर्न समेत चेतावनी दिने गरेका छन् ।

 

स्थानीयबासीले ताप्लेजुङबासीले केही नपाउने, गाडीवाला र केवलकार कम्पनीलाई मात्रै धनी बनाउने विकास आयोजनाको कुनै औचित्य नभएकोमा सरकार नै माफियासँग मिलेर निजि कम्पनीको फाइदाको लागि केवलकार बनाउन सरकारले जनतामाथि दमन गरेको आरोप लगाइरहेका छन् ।

जिल्लास्थित फुङलिङ नगरपालिकाका मेयरसहितका केही एमाले समर्थित, माओवादी समर्थित र कांग्रेस समर्थित जनजाति नेताहर मात्रै पाथिभरामा केवलकार बनाउनु पर्दछ भन्दै चर्को आवाज उठाइरहेका छन् । बाँकी त्यसको विरोधमा छन् । त्यस्ता निजि कम्पनीको पक्षमा आवाज उठाउनेहरु पाथिभरादेवी दर्शन केवलकार प्रा.लिको प्रायोजनमा उफ्रिरहेको स्थानीयबासीको भनाई छ । हालसम्म कुनै ठूलो अपराध नभएको पाथिभरामा केवलकार बनाउने परियोजनाकै कारण सुरक्षा चुनौति थपिएको जिल्लाका बुद्धिजीवीहरुको भनाई छ । कम्पनीले गुण्डा पालेर जनतामाथि आक्रमण गरेर ताप्लेजुङको शान्ति खल्बलिने अवस्था आएको बताउँछन् ।

आइएमई ग्रुपको मुख्य लगानी पाथिभरादेवी दर्शन केवलकार प्रा.लि.ले बनाउन लागेको केवलकारको कारण जिल्लामै शान्ति खल्बलिनेदेखि जनताले प्रगाढ विश्वास गर्ने पाथिभरा संस्कृतिमाथि प्रहार हुन थालेपछि हाल प्रतिनिधि सभामा सांसद रहेको योगेश भट्टराई जनताको बहिस्कार र तिस्कारमा पर्न थालेका छन् । स्थानीयबासीले पाथिभराको मन्दिर जाने बाटोमा ठाउँ ठाउँमा ‘योगेश भट्टराई मुर्दावाद’ नारा लेखेका छन् । जसले बाहिरबाट आउने भक्तजनहरुमा समेत योगेश भट्टराईले सही राजनीति नगरेको भान परिरहेको छ ।

 

जिल्लास्थित एमालेकै नेताहरुले पनि पाथिभरामा बनाउन लागेको केवलकारको कारण पार्टीप्रति जनताको विश्वास घटेको र आक्रोस थपिएको स्वीकार गर्दछन् । बीमापोष्टले फुङलिङमा भेटेको एक एमाले जिल्ला नेताले भने, ‘जिल्लामा पाथिभरामा बनाउन लागेको केवलकार काण्ड भनेर बद्नाम हुँदै गइरहेको छ, झन, काफ्लेपाटीमा एक जनालाई बिभत्स बनाएर काटेको घटनापछि एमालेप्रतिको जनताको विश्वास ढलमलिएको छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*