कात्तिक महिनामा जीवन बीमकको नविकरण बीमाशुल्क ४५ प्रतिशतले बढ्यो, राष्ट्रिय जीवन बीमा–रिलायबल र प्रभु महालक्ष्मीको सर्वाधिक बृद्धि
काठमाडौँ । हाल सञ्चालन रहेका जीवन बीमा कम्पनीहरुको कात्तिक महिनामा नौ अर्ब ७६ करोड ५९ लाख रुपैयाँ बराबरको नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा सो रकम बराबरको नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको नबिकरण बीमा शुल्क आर्जन ४५.१० प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आवको यस अवधिमा एक छ अर्ब ७३ करोड ०६ लाख रुपैयाँ बराबरको नविकरण बीमा शुल्क आर्जन गरेका थिए ।
कात्तिक महिनाको नविकरण बीमा शुल्क आर्जनमा पनि नेपाल लाइफ इन्स्योरेन्स अग्र्रस्थानमा रहेको छ भने गत आवको तुलनामा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको नबिकरण बीमा शुल्क आर्जन १८३ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कात्तिक महिनामा दुई अर्ब ७४ करोड चार लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । गत आवको तुलनामा कम्पनीको नविकरण बीमा शुल्क आर्जन ३९ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै, दोस्रो नम्बरमा रहेको एलआइसी नेपालको नविकरण बीमा शुल्क आर्जन ४१ प्रतिशतले बृद्धि भई एक अर्ब २५ करोड ७५ लाख रुपैयाँ र तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको नविकरण बीमा शुल्क आर्जन ५२.८० प्रतिशतले बढेर एक अर्ब १४ करोड ५४ लाख रुपैयाँ रहेको छ ।
साथै, यस अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सले नविकरण बीमा शुल्क आर्जन एक अर्ब ११ करोड १४ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सले ५९ करोड करोड ३४ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले ५७ करोड ३५ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३५ करोड ५० लाख रुपैयाँ र मेट लाइफ नेपालले ३४ करोड ४१ बराबरको नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
कात्तिक महिनामा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन सबैभन्दा बढी अंकले बृद्धि भएको छ । कम्पनीको नविकरण बीमा शुल्क आर्जन गत आर्थिक वर्षको तुलनामा १८३.०३ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै, रिलायबल नेपाल लाइफको ७३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ७० प्रतिशत, सूर्यज्योति लाइफको ६८.४७ प्रतिशत, आइएमई लाइफको ६४ प्रतिशत, सन नेपाल लाइफको ५५ प्रतिशतले नविकरण बीमा शुल्क आर्जन बढेको छ ।