लिवर्टी इनर्जीको हकप्रद शेयरमा आवेदन खुला
काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको ५० प्रतिशत हकप्रद शेयरमा आज (आइतबार) देखि आवेदन दिन सकिनेछ। यस कम्पनीले १ः०.५० अनुपातमा ७५ लाख कित्ता शेयर निष्कासन गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले हकप्रद शेयर जारी गर्न लागेको हो। यसबापत कम्पनीले ७५ करोड रुपैयाँ संकलन गर्नेछ।
हकप्रद निष्कासनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरिसकेकाले कात्तिक २० गतेसम्म नाम दर्ता भएका लगानीकर्ताले मात्र आवेदन दिन पाउनेछन्। आवेदन दिनु पर्ने समय मंसिर १६ देखि पुस ७ गतेसम्म तोकिएको छ।
यो शेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। आवेदनका लागि काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयका साथै प्रभु बैंकको बेशिसहर र लमजुङ शाखा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भोटेओडार र लमजुङ शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी र लमजु« शाखा साथै धितोपत्र बोर्डबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट पनि आवेदन दिन सकिन्छ।
हाल लिवर्टी इनर्जीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ। यो हकप्रद शेयर निष्कासनपछि चुक्ता पुँजी बढेर २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।
कम्पनीले हकप्रद बिक्रीबाट प्राप्त रकम माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको ऋण भुक्तानीका लागि ५५ करोड रुपैयाँ, आयोजना निर्माणका लागि भएको खर्चको बाँकी रकम भुक्तानीका लागि १५ करोड ३२ लाख र लोदोखोला साना जलविद्युत आयोजनामा ४ करोड २४ लाख रुपैयाँ लगानी गर्न प्रयोग गरिने बताएको छ।