विपन्न वर्गका लागि जलविद्युत् आयोजना शेयर ग्यारेन्टीको पहल

१४ मंसिर २०८१, शुक्रबार १८:१३

काठमाडौँ ।  ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री दीपक खड्काले ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत निर्माण हुन लागेका जलविद्युत् आयोजनामा विपन्न वर्गका लागि शेयर सुनिश्चित गर्ने प्रयास सुरु गरेका छन्। मन्त्री खड्काले यस कार्यक्रमअन्तर्गत गरिब र विपन्न वर्गका लागि विशेष पहल गर्दै उनीहरूको शेयरको ग्यारेन्टी राज्यले लिनुपर्ने धारणा अघि बढाएका छन्।

मन्त्री खड्काले भने, “स्रोतसाधनमाथिको अधिकार सबै नागरिकको हुनुपर्छ। गरिब र विपन्न वर्गलाई अगाडि बढाउन नसकेसम्म हामीले परिकल्पना गरेको समृद्ध मुलुक निर्माण गर्न सक्दैनौं।” उनले जलविद्युत् आयोजना को शेयर निस्कासन गर्दा सरकारको जिम्मेवारी बन्ने बताउँदै सो शेयरको ग्यारेन्टी सरकारले वाणिज्य बैँकमार्फत सहुलियत दरमा कर्जा सुनिश्चित गर्ने योजना बनाएको जानकारी दिए।

यस कार्यक्रम अन्तर्गत, सरकारले जनसङ्ख्याको आधारमा नभइ, घरधुरीको आधारमा विपन्न वर्गको पहिचान गरी उनीहरूको शेयर सुनिश्चित गर्ने प्रक्रिया अघि बढाउने योजना बनाएको छ। स्थानीय सरकारको तथ्याङ्कलाई आधार मानेर विपन्न वर्गको पहिचान गरिनेछ, जसका लागि सरकारले कर्जा सुविधा उपलब्ध गराउनेछ।

‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत देशभर २२ जलविद्युत् आयोजना अघि बढाइएका छन्। यसमा माथिल्लो त्रिशूली, माथिल्लो अरुण, अरुण किमाथाङ्का, घुन्साखोला, सिम्बुवाखोला, रसुवागढी, सान्जेन, अपर सेती, बूढीगण्डकी, भेरी बबई डाइभर्सन, चैनपुर सेती जस्ता प्रमुख आयोजनाहरू समावेश छन्।

यस पहलबाट लक्षित वर्गको आर्थिक र सामाजिक जीवनस्तरमा सुधार आउने विश्वास व्यक्त गरिएको छ, साथै यसले समग्र राष्ट्रिय मानव विकास सुचकाङ्कमा सकारात्मक प्रभाव पार्ने बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*