प्रधानमन्त्री ओलीको चीन भ्रमण: चिनियाँ विदेश मन्त्रालयले गर्यो औपचारिक घोषणा
काठमाडौँ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्ने भएका छन्। चिनियाँ विदेश मन्त्रालयले शुक्रबार दिउँसो एक विज्ञप्ति जारी गर्दै यो भ्रमणको औपचारिक जानकारी दिएको हो।
प्रधानमन्त्री ओलीलाई चीन भ्रमणका लागि चिनियाँ समकक्षी ली छ्याङले निमन्त्रण गरेका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ र चिनियाँ जनकांग्रेसका स्थायी समिति अध्यक्ष चाओ लेजीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणमा प्रधानमन्त्री ओलीसँग उनकी पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक सल्लाहकार डा। युवराज खतिवडा, सांसदहरू, सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र सञ्चारकर्मी गरी ८७ सदस्यीय टोली सहभागी हुने छ।
भ्रमणको पहिलो दिन प्रधानमन्त्री ओली बेइजिङ प्रस्थान गर्नेछन्। दोस्रो दिन उनले राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग आपसी चासोका विषयमा छलफल गर्ने कार्यक्रम छ। यसका साथै, उनले पेकिङ विश्वविद्यालयमा विशेष मन्तव्य दिने र नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ।
नेपाल–चीन व्यापार मञ्च चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद, नेपाल उद्योग वाणिज्य महासंघ र नेपालस्थित चिनियाँ दूतावासको सहकार्यमा आयोजना हुनेछ। भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, व्यापार र लगानीका विषयमा छलफल गर्ने तथा आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओलीको भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ। मन्त्रिपरिषदले यस भ्रमणलाई विहीबारकै बैठकमा स्वीकृत गरेको थियो।