एनपीएल : कर्णाली याक्सको मुख्य प्रायोजक महिन्द्रा अग्नि ग्रुप
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम कर्णाली याक्सले महिन्द्रा अग्नि ग्रुपसँग मुख्य प्रायोजनको सम्झौता गरेको छ ।
शुक्रबार हिल्टन होटलमा आयोजित कार्यक्रममा कर्णाली याक्सका मालिक झनकदत्त खनाल र महिन्द्रा अग्नि ग्रुपका तर्फबाट उपाध्यक्ष वेदा श्रेष्ठले मुख्य प्रायोजनको सम्झौतामा हस्ताक्षर गरेका हुन् । कर्णालीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी रहेका छन् । त्यसैगरी, टिमको मुख्य प्रशिक्षक राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल छन् ।
कर्णालीमा ओमानका पूर्वकप्तान जिशान मक्सुद, हङकङका बाबर हायात, वेस्ट इन्डिजका चाडविक वाल्टन र भारतका शिखर धवन छन् । वाल्टन, हायात र मक्सुद नेपाल आइसकेका छन् भने धवन नेपाल आइपुग्न बाँकी छ । त्यसैगरी, टिममा गुलशन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिसविक्रमसिंह ठकुरी र दीपक डुम्रे छन् ।
कर्णालीले ट्यालेन्ट हन्टबाट विपीनप्रसाद शर्मालाई आइकोनिक खेलाडीका रूपमा छनोट गरिसकेको छ । युनिस हाल संयुक्त अरब इमिरेट्समा चलिरहेको यु–१९ टोलीमा एसिया कप खेलिरहेका छन् ।
यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससँगै काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स गरी आठ टिम सहभागी छन् ।