मौद्रिक नीतिमा सिबिफिनले भन्यो, ‘समयसापेक्ष रुपमा थप लचकता र नीतिगत सहजता अपनाउनु पर्छ’

१४ मंसिर २०८१, शुक्रबार १६:१३

काठमाडौँ। मौद्रिक नीति २०८१ को पहिलो त्रैमासिक समीक्षाले “पर्ख र हेर” को रणनीति अवलम्बन गरेको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले समीक्षालाई समयसापेक्ष रुपमा थप लचकता र नीतिगत सहजता अपनाउन सुझाव दिएको छ।

परिसंघले मौद्रिक नीतिले लिएका लक्ष्यप्रति प्रतिबद्धता जनाउँदै मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थायित्व कायम गर्न सकारात्मक सुधार आएको बताए पनि आन्तरिक आर्थिक सूचकहरू भने अझै शिथिल रहेको उल्लेख गरेको छ।

नेपाल राष्ट्र बैंकको विशेष पहलका कारण अर्थतन्त्रका बाह्य सूचकहरुमा सुधार आएको भए पनि आन्तरिक सूचकहरु अझै कमजोर रहेको परिसंघको भनाइ छ। गैरबैंकिङ सम्पत्तिमा वृद्धि, बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको स्थिति, पूँजीगत खर्चको अभाव, र निजी क्षेत्रको मनोबल घट्नुले आर्थिक गतिविधिमा गतिहीनता आएको परिसंघले औंल्याएको छ।

परिसंघले हालै सार्वभौम साख मूल्याङ्कनमा नेपालले प्राप्त गरेको सन्तोषजनक नतिजाले देशको लगानी वातावरण सुधार गर्ने अवसर दिएको बताएको छ। यद्यपि, कर्जा प्रवाह र पूँजी परिचालनको गति अझै अपेक्षाकृत रूपमा बढ्न नसकेको भन्दै परिसंघले मौद्रिक नीतिमा थप लचकता आवश्यक भएको जोड दिएको छ।

गत साउनमा आएको मौद्रिक नीतिले अर्थतन्त्रलाई लयमा ल्याउने अपेक्षा गरिएको भन्दै परिसंघले नीति समयसापेक्ष रहेको बताएको छ। तर, त्रैमासिक समीक्षाले विगतकै कार्यदिशा मात्र निरन्तरता दिएकाले नीतिगत सुधारको अभाव देखिएको ठहर गरेको छ। परिसंघका अनुसार यसले मौद्रिक नीतिका लक्ष्यहरूको प्राप्तिमा अनिश्चितता बढाएको छ।

परिसंघले बैंक तथा वित्तीय संस्थाहरूमा पर्याप्त तरलता र न्यून ब्याजदर जस्ता सकारात्मक पक्षलाई अझ प्रभावकारी बनाउनका लागि आगामी समीक्षामा थप नीतिगत सहजता आवश्यक रहेको जनाएको छ। विशेषतः लगानी विस्तार, कर्जा प्रवाह र पूँजी परिचालनका लागि थप लचिलो उपायहरू अवलम्बन गर्न राष्ट्र बैंकलाई सुझाव दिएको छ।

परिसंघले देशको अर्थतन्त्रलाई जीवन्त बनाउन आगामी त्रैमासिक समीक्षाबाट राष्ट्र बैंकले ठोस कदम चाल्ने विश्वास व्यक्त गर्दै निजी क्षेत्रलाई सहयोगी वातावरण सिर्जना गर्न आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*