रामेछापमा गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित पाँच जनाको मृत्यु
काठमाडौँ । रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा भएको फोर्स गाडी दुर्घटनामा वडा अध्यक्षसहित पाँच जनाको ज्यान गएको छ। काठमाडौँबाट गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ३ रस्नालु जाँदै गरेको त्रिवेणी यातायातको ना १ ज ७१२३ नम्बरको फोर्स गाडी दुर्घटनाग्रस्त भएको हो।
रामेछापका प्रमुख जिल्ला अधिकारी राजु पौडेलका अनुसार दुर्घटनामा तीन जना घाइते भएका छन्, जसमा एक बालक पनि रहेका छन्। तीनमध्ये एक जनाको अवस्था गम्भीर रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहका अनुसार, दुर्घटनामा गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामचन्द्र बस्नेत, गाडी चालक हीराबहादुर कार्कीसहित पाँच जनाको मृत्यु भएको छ। अन्य मृतकहरूको पहिचान खुल्न बाँकी छ।
घटनास्थलमा प्रहरी र स्थानीयवासीले उद्धार कार्य सम्पन्न गरेका छन्। दुर्घटनाको कारण खुल्न सकेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।