निर्जीवन बीमा कम्पनीको व्यवसाय बागमती प्रदेशको मोटर बीमामा सीमित, कारण के हो ?
काठमाडौँ । हाल सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्रका ८ वटा बीमालेखहरु बिक्री गरिरहेका छन् । कम्पनीहरुले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा १४ अर्ब ३५ करोड रुपैयाँको बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले सरकारले अनिवार्य गरेको मोटर बीमालेखबाट सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । साथै प्रदेशगत रुपले हेर्ने हो भने बागमती प्रदेशमा सबैभन्दा बढी निर्जीवन बीमा व्यवसाय भएको छ ।
निर्जीवन बीमा कम्पनीहरुले चार महिनाको अवधिमा मोटर बीमालेखबाट चार अर्ब ५९ करोड ३८ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएका छन् । कम्पनीहरुले देशको संघिय राजधानी भएको बागमती प्रदेशमा सबैभन्दा बढी व्यवसाय गर्न सफल भएका छन् । किनकी यस प्रदेशमा गाडीहरुको सर्वाधिक खरिद–बिक्री हुने गरेको र सरकारले नै अनिवार्य गरेको भएर मोटर बीमाबाट कम्पनीहरुले मनग्य व्यवसाय गर्न सफल भएका छन् ।
त्यस्तै, दोस्रो नम्बरमा रहेको सम्पत्ति बीमालेखबाट निर्जीवन बीमा कम्पनीहरुले तीन अर्ब ८२ करोड रुपैयाँको व्यवसाय गरेका छन् । कम्पनीहरुले सम्पत्ती बीमा अन्तर्गत भवन तथा निर्माणाधीन भवन, कच्चा पदार्थ, तयारी बस्तु, फर्निचर, नगद, सुनचाँदी गरगहना लगायतका समानहरुको बीमा गर्ने गरिन्छ ।
निर्जीवन बीमा कम्पनीहरुले इन्जिनियर तथा ठेक्का जोखा बीमाबाट कम्पनीहरुले एक अर्ब ६५ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । कृषि तथा बाली बीमाबाट ६७ करोड ७९ लाख रुपैयाँ, सामून्द्रिक बीमाबाट १ करोड ७७ लाख रुपैयाँ, हवाई बीमाबाट ६६ करोड ४० लाख रुपैयाँ, लघुबीमाबाट २६ करोड रुपैयाँको व्यवसाय गरेका छन् ।
प्रदेशगत रुपमा बागमती प्रदेशमा सबैभन्दा बढी बीमा व्यवसाय भएको छ । यस प्रदेशमा निजीवन बीमा कम्पनीहरुले नौ अर्ब ६२ करोड २२ लाख रुपैयाँको व्यवसाय गरेका छन् ।
त्यस्तै, राजधानी र सरकारको आखाँबाट दुर रहेको कर्णाली प्रदेशमा सबैभन्दा न्यून बीमा व्यवसाय भएको छ । यस क्षेत्रमा निर्जीवन बीमा कम्पनीहरुले चार महिनाको अवधिमा १२ करोड ५० लाख रुपैयाँको मात्र व्यवसाय गरेका छन् । यस क्षेत्रमा गाडी, इन्जिनियर तथा सम्पत्तिहरुको बीमा गर्ने प्रचलन त्यति धेरै रहेको छैन् ।
कुल बीमा शुल्क आर्जन र प्रदेशगत विवरण :