सहकारी ठगी प्रकरणमा प्रहरी निरीक्षक निलम्बन

१२ मंसिर २०८१, बुधबार १६:३१

काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न ठहर भएका नेपाल प्रहरीका एक प्रहरी निरीक्षक धर्मेन्द्र अकौलिया निलम्बनमा परेका छन्। प्रहरी प्रधान कार्यालयले उनीविरुद्ध कानूनी कारबाही प्रक्रिया अघि बढाउँदै निलम्बन आदेश जारी गरेको हो।

प्रहरी वृत्त, स्वयम्भूले फरार सूचीको खोजी गर्ने क्रममा आफ्नै निरीक्षक अकौलियाको नाम पनि सूचीमा फेला पारेपछि प्रकरण थप चर्चा आएको थियो। गत मंसिर ४ मा उनलाई जिल्ला अदालत, काठमाडौंमा बुझाइएको थियो। अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गरे पनि त्यसपछि उनी निलम्बनमा परेका हुन्।

मारुती बचत तथा ऋण सहकारी संस्थासँग सम्बन्धित प्रकरणमा सदस्यका रूपमा अकौलियाविरुद्ध २०८० भदौमा जाहेरी परेको थियो। मुद्दा दर्ता भएर अदालतसम्म पुग्दा पनि उनी हाजिर भएका थिएनन्। सहकारी प्रकरणमा विगो रकम थोरै भएकाले अन्य आरोपीहरूसँग मिलापत्र भए पनि निरीक्षक अकौलियाको विषयमा कानूनी प्रक्रिया जारी राखिएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीभित्रकै सदस्य ठगी प्रकरणमा मुछिँदा कानूनी कार्यान्वयनको विषयमा थप प्रश्नहरू उठेका छन्। यस घटनाले प्रहरी प्रशासनभित्र अनुशासन र जवाफदेहिताको महत्व पुनः सतहमा ल्याएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*