श्रेष्ठको आगमनसँगै बजारमा रौनकः कारोबार र परिसूचकमा उछाल, ‘मौद्रिक नीतिपछि बुल आउँछ’
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएपछि शेयर बजारले सुधारको संकेत देखाएको छ । दुई कारोबार दिनमै बजारमा सकारात्मक वातावरण बनेको छ भने कारोबार रकम पनि उल्लेखनीय रूपमा बढेको छ । श्रेष्ठको नेतृत्वलाई बजारमा नयाँ आशा र उत्साहका रूपमा हेरिएको छ ।
लगानीकर्ताको मनोबल उच्च हुँदै गएको र बजारमा सकारात्मक परिवर्तन देखिन थालेपछि अर्थतन्त्रप्रति भरोसा बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्रीले शेयर बजारलाई अर्थतन्त्रको ऐनाको रूपमा व्याख्या गर्दै आएका छन् । यसैबीच, गर्भनर महाप्रसाद अधिकारी र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठ दुवै एमाले निकट मानिने भएकाले बजारका नियामक निकायहरूबीच सहकार्य र समन्वय हुने आशा लगानीकर्तामा जागृत भएको छ ।
अब आउने मौद्रिक नीतिको पहिलो समीक्षा बजारको लागि निर्णायक बन्न सक्ने विश्वास गरिएको छ । यदि मौद्रिक नीतिले पुँजी बजारमैत्री नीति अपनायो भने बजार नयाँ उचाइमा पुग्न सक्ने विश्लेषकहरूको ठम्याइ छ । यसबाहेक, सरकार र नियामक निकायहरूले शेयर बजारप्रति सकारात्मक धारणा राखेको सन्देशले पनि लगानीकर्तालाई हौसला प्रदान गरेको छ।
पछिल्लो समय बैंकहरूको ब्याजदर निरन्तर घट्दै आएको छ। यो घटावटले शेयर बजारमा लगानी आकर्षित गर्न भूमिका खेलिरहेको छ। साथै, पुँजी बजारसँग सम्बन्धित सबै सूचकहरू सकारात्मक देखिन थालेका छन्, जसले गर्दा बजारको लय सुध्रिने सम्भावना बलियो बनेको छ । देशको समग्र अर्थतन्त्र सुधारतर्फ उन्मुख रहेको बेला शेयर बजार पनि यो सुधारको हिस्सा बन्ने अपेक्षा गरिएको छ । सन्तोष नारायण श्रेष्ठको अध्यक्षतामा बजारमा स्थिरता र दीर्घकालीन विकास हुने विश्वास गरिएको छ । लगानीकर्ताहरूले अब आउने मौद्रिक नीति र नियामक निर्णयप्रति ध्यान केन्द्रित गरेका छन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.८१ अकंले बढेर २७५५.४७ बिन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन फाइनान्स समूहबाहेक अन्य १२ उपसूचकमा हरियाली देखिएको छ । आज फाइनान्स समूहको शेयर भने ०.४७ प्रतिशतले घटेको छ । बुधबार बैंकिङ समूहको ०.३२ प्रतिशत, विकास बैंक समूहको ३.१८ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज १९९ कम्पनीको शेयर मूल्य बढ्दा ४० कम्पनीको घटेको छ ।