शौर्य एयरलाइन्स दुर्घटनाः चार महिना बित्दा पनि क्षतिपूर्ति नपाएपछि पीडित परिवार संसदीय समिति गुहार्दै

१२ मंसिर २०८१, बुधबार १४:३१

काठमाडौँ ।  गत साउन ९ गते भएको शौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका पीडितका परिवारहरू अझै पनि क्षतिपूर्ति नपाएको भन्दै संसदीय समितिमा न्यायको माग गरेका छन्। सप्तरीको कञ्चनरूप नगरपालिका-७ का प्रकाशकुमार खतिवडाले आफ्नी छोरी, ज्वाइँ र नातिको मृत्यु भएपछि न्यायका लागि अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा ध्यानाकर्षण पत्र बुझाएका हुन्।

प्रकाशकुमार खतिवडाले समितिका सभापति राजकिशोर यादवलाई बुझाएको पत्रमा चार महिनासम्म पनि पीडित परिवारले उचित क्षतिपूर्ति नपाएको, सम्बन्धित निकायहरूले जिम्मेवारी बहन नगरेको र घटनाको छानबिनमा निष्पक्षता नअपनाएको गुनासो गरेका छन्।

खतिवडाले जहाज दुर्घटनाका दोषीहरूलाई कानूनी कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, र निष्पक्ष आयोग गठन गरी घटनाको पुनः छानबिन गर्नुपर्ने माग गरेका छन्। चार महिनादेखि शौर्य एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण, र प्रभु इन्सुरेन्सले उचित सुनुवाइ नगरेको भन्दै उनले समितिलाई हस्तक्षेप गर्न आग्रह गरेका छन्।

साउन ९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको शौर्य एयरलाइन्सको ‘९एन–एनएमई’ दर्ता भएको सीआरजे–२०० सिरिजको विमान टेकअफ गरेको २० सेकेन्डभित्रै दुर्घटनाग्रस्त भएको थियो। विमान दाहिनेतर्फ कोल्टिएर भुइँमा बजारिएको यस घटनामा १८ जनाको मृत्यु भएको थियो भने क्याप्टेन मनिषरत्न शाक्यलाई जीवितै उद्धार गरिएको थियो।

पीडित परिवारहरूका लागि क्षतिपूर्ति दिनुपर्ने जिम्मेवारीमा शौर्य एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण, र प्रभु इन्सुरेन्सले बेवास्ता गरेको परिवारका सदस्यहरूले दाबी गरेका छन्। पीडितहरूलाई न्याय दिलाउन समिति र सरकारको सहयोग अत्यावश्यक रहेको उनीहरूको भनाइ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*