वैदेशिक रोजगारका नाममा १७ लाख ठगी, दुई जना प्रहरी नियन्त्रणमा
काठमाडौँ। वैदेशिक रोजगारका नाममा १७ लाख ४५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–५ का सुवर्णकुमार बल र सर्लाही ब्रम्हपुरी गाउँपालिका–३ की मनिषा कुमारी रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार ती दुईले आकर्षक तलबको प्रलोभन देखाएर बेरोजगार युवायुवतीलाई विदेश लैजाने बहाना बनाएका थिए। तर, लामो समयसम्म झुक्याई विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले उजुरी दिएका थिए।
बलले एक व्यक्तिलाई क्रोएसिया पठाउने भन्दै १५ लाख रुपैयाँ ठगेका थिए भने मनिषाले दुबई पठाउने बहानामा २ लाख ४५ हजार लिएको खुल्न आएको छ। उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।