समस्याग्रस्त नेपाल शेयर मार्केट्सको व्यवस्थापन समूहका लागि दरखास्त आह्वान, तलब एक लाख
काठमाडौं । राष्ट्र बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेड,रामशाहपथले व्यवस्थापन तथा सञ्चालनका लागि दुई सदस्यीय व्यवस्थापन समूहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। इच्छुक योग्य नेपाली नागरिकले मंसिर २६ गते कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।
आवेदकले व्यवस्थापन, बैंकिङ, अर्थशास्त्र, लेखाशास्त्रजस्ता क्षेत्रका स्नातक उपाधि र सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव वा चार्टर्ड एकाउन्टेन्सी पूरा गरी ५ वर्षको अनुभव भएको हुनुपर्नेछ। उम्मेदवारको उमेर आवेदन मितिमा ३५ देखि ६५ वर्षको बीचमा हुनुपर्नेछ।
कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा छनोट गरिनेछ। मासिक पारिश्रमिक १ लाख ३ हजार ६०० रुपैयाँ तोकिएको छ। इच्छुकले आवश्यक कागजातसहित नेपाल शेयर मार्केट्सको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ।