अदालतको आदेशपछि विशाल बजारको सेयर संरचना फेरबदल, सरकारको नाममा कति कित्ता शेयर थपियो ?
काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडको सेयर संरचनामा व्यापक फेरबदल भएको छ । सर्वोच्च अदालत र पाटन उच्च अदालतको आदेश बमोजिम विशाल बजार कम्पनीमा सरकारको सेयर थप भएपछि सेयर संरचना परिर्वतन भएको हो । नेप्सेमा आज कम्पनीको ३ करोड ९६ लाख ८ हजार ६०० कित्ता संस्थापक सेयर सूचीकृत भएको छ ।
सरकारले ३ अर्ब ९६ करोड पूँजी थप गरेपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब १ करोड पुगेको छ । यसअघि कम्पनीको चुक्ता पुँजी ५ करोड मात्र थियो । सो कम्पनी स्थापना हुने समयमा सरकारले दिएको जग्गाको हिसाब नभएकाले सो जग्गाको मूल्यांकनलाई सेयरमा बदली गर्दा सेयर संचरना फेरिएको हो । कम्पनीका लागि सरकारले काठमाडौ न्युरोडको ४ रोपनी जग्गा उपलब्ध गराएको थियो ।
स्टक एक्सचेन्जमा सूचीकृत यस कम्पनीमा सर्वसाधारणको पनि लगानी रहेको छ । सरकारको लगानी थपिएपछि कम्पनीमा सरकारको सेयर हिस्सा ९८।७५ प्रतिशत पुगेको छ भने सर्वसाधारणको ०।७१ प्रतिशत तथा अन्यको सेयर हिस्सा ०।५३ प्रतिशतमा खुम्चिएको छ ।