कात्तिक महिनामा चलनचल्तीमा रहेको मुद्रा ७ खर्ब ४५ अर्ब ९१ करोड पुग्यो

११ मंसिर २०८१, मंगलवार १४:१०

काठमाडौँ । चालु आर्थिक वर्षको कात्तिकसम्म नेपालमा चलनचल्तीमा रहेको रकम ७ खर्ब ४५ अर्ब ९१ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार, पछिल्लो चार महिनामा यो रकम ६५ अर्ब ८६ करोड ६१ लाखले बढेको छ। गत असार मसान्तसम्म चलनचल्तीमा रहेको मुद्रा ६ खर्ब ८० अर्ब ४ करोड थियो।

दसैं, तिहार, छठलगायत चाडपर्वका कारण बजारमा खर्च बढ्दा वित्तीय प्रणालीबाट ठूलो मात्रामा रकम बाहिरिएको छ। यसले चलनचल्तीमा रहेको मुद्रा वृद्धि गराएको देखिन्छ।

साथै, राष्ट्र बैंकको तथ्यांकअनुसार, कात्तिक मसान्तसम्म केन्द्रीय बैंकको ढुकुटीमा ६ खर्ब १७ अर्ब ४ करोड २२ लाख सञ्चित छ। यस अवधिमा ढुकुटी रकम ४४ अर्ब ९६ करोडले बढेको छ। गत असार मसान्तसम्म यो रकम ५ खर्ब ७२ अर्ब ७ करोड थियो।

केन्द्रीय बैंकको दायित्व पनि उल्लेख्य रूपमा बढेर २२ खर्ब २७ अर्ब १९ करोड पुगेको छ। चार महिनामा मात्रै यो दायित्व १ खर्ब ७० अर्बले वृद्धि भएको छ।

राष्ट्र बैंकले समयअनुसार आवश्यकतानुसार मनि सप्लाई घटाउने र बढाउने काम गर्छ। च्यातिएका, पुराना, वा बिग्रिएका नोटलाई बजारबाट फिर्ता गरी नयाँ नोट बजारमा प्रवाह गर्ने काम पनि नियमित रूपमा गरिन्छ। मुद्रा प्रवाहलाई व्यवस्थापन गर्ने यस प्रक्रियाले वित्तीय स्थायित्वलाई सुनिश्चित गर्ने लक्ष्य राख्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*