चार महिनामा शेयर बजारबाट राज्यले प्राप्त गर्यो ८ अर्ब १६ करोड पुँजीगत लाभकर
काठमाडौँ। चालु आर्थिक वर्षको कात्तिक महिनामा शेयर कारोबारबाट सरकारले ७५ करोड ८७ लाख ८१ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ। लगानीकर्ताले शेयर कारोबारबाट भएको नाफा अनुसार राज्यलाई यो कर तिरेका हुन्।
कात्तिक महिनामा व्यक्तिगत लगानीकर्ताबाट दीर्घकालीन कारोबारमार्फत २६ करोड २३ लाख ८७ हजार रुपैयाँ लाभकर संकलन गरिएको छ भने अल्पकालीन कारोबारबाट ४१ करोड ७४ लाख ५४ हजार रुपैयाँ कर उठेको छ। संस्थागत शेयर कारोबारबाट ७ करोड ८७ लाख २० हजार रुपैयाँ र स्टक डिलरको कारोबारबाट २ लाख १९ हजार रुपैयाँ कर संकलित भएको छ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा पुँजीगत लाभकरको जम्मा संकलन ८ अर्ब १६ करोड २६ लाख रुपैयाँ पुगेको छ। साउन महिनामा मात्रै ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँ लाभकर उठाइएको थियो। भदौमा २ अर्ब ५७ करोड ९४ लाख ८० हजार रुपैयाँ, असोजमा ५८ करोड ६५ लाख ४० हजार रुपैयाँ र कात्तिकमा ७५ करोड ८७ लाख ८१ हजार रुपैयाँ कर संकलन भएको हो।
पुँजीगत लाभकर संकलनमा नेपाल स्टक एक्सचेन्ज सूचकको उतारचढावको ठूलो भूमिका रहेको देखिन्छ। गत आर्थिक वर्षको असार मसान्तमा नेप्से २,२४०।४१ विन्दुमा थियो। साउन महिनामा यो सूचक ३,००० विन्दुमा पुगेपछि कारोबारमा उल्लेख्य वृद्धि भयो।
साउनपछि नेप्सेमा केही गिरावट आएको भए पनि भदौदेखि कात्तिकसम्म सूचकले उतारचढाव गर्दै लगानीकर्ताको चासो बढाएको थियो। यस अवधिमा उच्च मात्रामा शेयर कारोबार हुँदा पुँजीगत लाभकर संकलन पनि उच्च रह्यो। तथ्यांकअनुसार चालु वर्षमा संकलित लाभकर गत वर्षको तुलनामा धेरै बढेको छ।
शेयर कारोबारबाट एक वर्ष वा सोभन्दा कम अवधिमा शेयर होल्ड गरेपछि बेच्ने लगानीकर्ताले ७.५ प्रतिशत कर तिर्नुपर्नेछ। एक वर्ष वा सोभन्दा बढी अवधिसम्म होल्ड गरेर बिक्री गर्दा भने ५ प्रतिशत लाभकर लाग्ने व्यवस्था छ।
लगानीकर्ताको सक्रियता र नेप्से सूचकको उतारचढावले आगामी महिनामा पनि पुँजीगत लाभकर संकलन उच्च रहने अपेक्षा गरिएको छ।