स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर ११ गते) अन्तिम दिन रहेको छ।
३८ औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोलि (मंसिर १२ गते) बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनी मात्रै बैंकको सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
बैंकले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत अर्थात् प्रतिशेयर १०० शेयरमा ६.५ शेयरका दरले बोनस शेयर र १९ प्रतिशत अर्थात् प्रतिशेयर १९ रुपैयाँ नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरिसकेको छ।
घोषित लाभांश पारित गर्न बैंकले मंसिर २५ गते मंगलबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजे सभा बोलाएको छ।
सभामा बैंकको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्न र आवश्यक परेको खण्डमा प्रबन्धपत्र तथा नियमावलीको संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पेश हुनेछ।
यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।