ताप्लेजुङमा सयौं लालिगुराँसको रुख काटियो, राष्ट्रिय फूलको जंगल बिनास हुँदा सबै चुपचाप

१० मंसिर २०८१, सोमबार १८:५९

पूर्वी नेपालको ताप्लेजुङमा सयौं लालिगुराँसको रुख काटिएको छ । नेपालको राष्ट्रिय फूल लालिगुराँसका सयौं रुखहरु सत्ताधारी नेकपा एमाले, माओवादी र कांग्रेसकै राजनीतिक संरक्षणमा काटिएका हुन् । मुख्य रुपमा सत्ताधारी नेकपा एमालेको संरक्षण पाथिभरा केवलकार प्रा.लि.ले उक्त राष्ट्रिय फूल लालिगुराँसका रुखहरु काटेको हो ।

ताप्लेजुङ जिल्लाका फुङलिङ नगरपालिका वडा नं ११ मा पर्ने पाथिभराको पहाडमा रहेका ति रुखहरु पाथिभरादेवी दर्शन केवलकार प्रालिले कटाएको हो । सो कार्यमा पाथिभरा विकास समिति, फुङलिङ नगरपालिका तथा डिभिजन वन कार्यालय ताप्लेजुङकै समेत संलग्नता रहेको स्थानीयबासीको भनाई छ ।

 

 

 

ताप्लेजुङ जिल्लाको काफ्लेपाटीबाट एक किमी पूर्वमा रहेको स्थान, माथिल्लो फेदीसहित पाथिभराका विभिन्न क्षेत्रमा ति रुखहरु काटिएको हो । स्थानीयबासीले गत वर्षदेखि नै रुख कटान गरिएको र हालसम्म करिब दुई सय रुख काटिएको बताएका छन् । बीमापोष्टका प्रतिनिधि ताप्लेजुङ पुग्दा सयौं रुखहरु काटेर जंगलमा फ्याकिएको अवस्थामा छ । काटिएका अधिकांश रुखहरु राष्ट्रिय फूल लालिगुराँस रहेका छन् ।

ठूलो मात्रामा लालिगुराँस काटिएको सम्बन्धमा जिज्ञाशा राख्दा ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले केवलकार बनाउने कम्पनीले डिपिआरभित्र परेका गुराँसका रुखहरु काटिएको स्वीकार गरे । उनले भने, ‘डिपिआरभित्र परेका रुखहरु केबलकार बनाउने कम्पनीले काटेको हो ।’ उता, पाथिभरा क्षेत्रमा केवलकार बनाउने नाममा ठूलो मात्रामा लालिगुराँस काटिएकोबारे स्थानीयबासी भने आक्रोसित छन् । एक स्थानीयबासीले आपत्ति जनाउँदै भने, ‘राष्ट्रिय जनावर गाई काट्दा जेल हाल्ने, राष्ट्रिय फूलको यसरी जंगलै बिनास गर्दा सरकार के हेर्दैछ ।’ स्थानीयबासीले सरकार आफै माफियासँग मिलेर पाथिभराको जंगल बिनास गर्न लागि परेको बताए ।

पाथिभरा क्षेत्रमा ढकमक फुल्ने लालिगुराँसको बिनास हुँदा पनि डिभिजन वन कार्यालय ताप्लेजुङले कुनै कारवाही नगरेको स्थानीयबासीको गुनासो छ । राष्ट्रिय फूल दिन दहाडै राज्यको संरक्षणमा काटिएको आरोप लगाउँदै पाथिभरादेवी दर्शन केवलकार प्रा.लि, पाथिभरा विकास समिति, फुङलिङ नगरपालिका र डिभिजन वन कार्यालय ताप्लेजुङका जिम्मेवार पदाधिकारीलाई तत्काल पक्राउ पुर्जी जारी गरेर थुनामा राख्न माग गरेका छन् ।

अधिवक्ता स्वागत नेपालले पनि राष्ट्रिय फूल लालिगुराँस बिनास गरिएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको प्राकृतिक स्रोत दोहन र वन बिनासप्रतिको धारणा सार्वजनिक गर्न माग गरेका छन् ।

पाथिभरामा केवलकार बनाउने नाममा पूर्वी ताप्लेजुङमा अत्याधिक वन बिनास भइरहेकोमा अभियान्ताहरुले आपत्ति जनाउै आएका छन् । तर, सरकारले जनताको आवाज दमन गरेर बलपूर्वक पाथिभराको निजि कम्पनीको फाइदाको लागि प्राकृतिक बिनास गरिरहेको स्थानीयबासीको आरोप छ ।

 

ताप्लेजुङको पाथिभरामा भइरहेको प्राकृतिक बिनास र लालिगुराँसका सयौं रुखहरु काटिएकोबारे जिल्लामा रहेका नेकपा एमाले, माओवादी र नेपाली कांग्रेसका नेताहरुको समेत मिलेमतो भएको आरोप स्थानीयबासीको छ । एक स्थानीयबासीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने, ‘यहाँ पाथिभरा केवलकारले गरेको बिनासबारे बोल्ने वित्तिकै ज्यानै जाने अवस्था छ । गौडा गौडामा गुण्डा पालेर राखिएको छ, विरोध गर्ने वित्तिकै खुकुरी खाने अवस्था छ ।’

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*