सभामुख कम्बोडिया पुगेका बेला रोएर निस्किए प्रतिनिधिसभा सचिव अधिकारी
काठमाडौं । सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा रहेका बेला प्रतिनिधिसभा सचिव सुरेश अधिकारीले राजीनामा दिएपछि संसद सचिवालयमा खैलाबैला मच्चिएको छ । शिक्षा सचिवबाट सेवानिवृत्त अधिकारीलाई सभामुख घिमिरेले ५ महिनाअघि मात्रै प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए । पाँचै महिनामा उनको वहिर्गमनले संशय उत्पन्न गराएको छ ।
अधिकारीले राजीनामा दिनुको कारण व्यक्तिगत स्वास्थ्यलाई बनाए पनि उनी दीर्घकालीन कुनै रोग पीडित भने होइनन् । र, उनको राजीनामालाई लिएर विभिन्न अड्कलवाजी भइरहेका छन् ।
कतिपयले संसदको संयुक्त समितिका रुपमा रहेका राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सचिवको जिम्मेवारी पाएका अधिकारी कार्यसम्पादनका दौरान सांसदहरुले गरेको व्यवहारबाट प्रताडित भएर राजीनामा दिएको बताएका छन् भने केहीले सभामुख घिमिरे स्वयंले अफ्ठयारोमा पारेपछि राजीनामा दिएको अड्कलबाजी गरेका छन् ।
अधिकारीले आफुलाई दबाएर राखेको र एडजस्ट गर्न नसकेको भनी संसद सचिवालयका अधिकारीहरुलाई भन्ने गरेको थाहा हुन आएको छ । उनले दशैंअघि नै जागिर छोड्ने कुरा गरेका थिए । तर, सभामुख घिमिरेले त्यतिबेला बाहिरिंदा नराम्रो म्यासेज जाने भन्दै रोकेका थिए ।
आफ्नो कम्बोडिया भ्रमणताका राष्ट्रपतिलाई राजीनामा बुझाउनु भन्ने सभामुख घिमिरेकै सल्लाहले अधिकारी निस्किएको संसद सचिवालयका एक अधिकारीले बीमापोष्टलाई बताए ।
उनले सेवानिवृत्तपछि पाउने पेन्सनभन्दा सचिव पदको सुविधा कम भएको, सांसदहरुबाट पनि व्यवहार राम्रो नभएको र सक्रिय भूमिका पनि नदिईएको भनी सहकर्मीहरुलाई गुनासो गर्दै आएका थिए । खासगरी सभामुख घिमिरेले आफ्नो सचिवालयका कर्मचारीको सेवा सुविधामा निकै गोलमाल गर्ने गरेको गुनासाहरु बेलाबखत बाहिर आउने गरेका छन् ।
प्रतिनिधिसभा सचिवालयका एक अधिकारीका अनुसार सचिव अधिकारी पीडा सहन नसकेपछि रोएर निस्किएका हुन् । अधिकारी १८ असारमा प्रतिनिधिसभा सचिव नियुक्त भएका थिए ।