मुक्तिनाथ क्यापिटलले मंसिर २० देखि ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ निष्कासन गर्ने

१० मंसिर २०८१, सोमबार ०७:३१

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो पहिलो म्युचुअल फण्ड ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ निष्कासनमा ल्याउने तयारी गरेको छ। यो फण्डको इकाई मंसिर २० गतेदेखि बिक्री खुला हुनेछ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरका १० करोड इकाई जारी गर्न लागेको हो। कुल इकाईमध्ये १३ प्रतिशत अर्थात १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंकलाई र २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिनेछ।

लगानीकर्ताले कम्तीमा १०० इकाई र अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अवधि मंसिर २० देखि २४ सम्म रहनेछ। यदि सो समयमा पर्याप्त आवेदन प्राप्त नभएमा आवेदन म्याद पुस ४ गतेसम्म थपिनेछ।

कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई बिक्री भएका अवस्थामा इकाई बाँडफाँट गरिनेछ। न्यूनतम इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र लगानीकर्तालाई रकम फिर्ता गरिनेछ।

यो १० वर्ष अवधि भएको बन्दमुखी म्युचुअल फण्ड हो। लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो शेयर प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन्। योजना व्यवस्थापक र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड नै रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*